


तनहुँ, ८ भदौ । शुक्ला हिलेटार शिवालय क्षेत्रमा निर्माणाधीन दुग्देश्वर महादेवको मन्दिर निर्माणको काम सुचारु भएको छ । केही समय रोकिएको निर्माण कार्य सोमबारदेखि सुरु भएको हो । सोमबार विहान विशेष पुजापाठसहित निर्माणलाई तिव्रता दिइएको हो । मन्दिरको जग, पिल्लर लगायतको आधारभूत काम सकाएपछि बीचमा केही समय रोकिएको थियो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ पुल्चोकमा निर्माणाधिन दुग्देश्वर महादेवको मन्दिरको काम अब निरन्तर हुने शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भण्डारीले बताए ।
दुग्देश्वर महादेवको मन्दिर शिखर र प्यागोडा शैलीमा निर्माण हुनेछ । एक करोड ३७ लाख रुपैयाँ मन्दिर निर्माणको लागत अनुमान छ । हालसम्म झण्डै ५० लाख रुपैयाँ संकलन भएको छ । समुदायबाट नै आर्थिक संकलन गरेर मन्दिर निर्माणलाई पूर्णता दिने अध्यक्ष भण्डारीको भनाई छ । हाल टोल-टोलमा पुगेर सहयोग संकलन भैरहेको उनले जानकारी दिए ।
यस्तै, शुक्ला हिलेटार शिवालय क्षेत्रको बृहत डिपिआर निर्माणका लागि सोमबार अन्तरक्रिया गरिएको छ । स्थानीय जनप्रतिनिधि, सरोकारवाला, स्थानीयवासीबीच अन्तरक्रिया भएको हो ।