मिर्गौला पीडित श्रेष्ठलाई अमेरिकाबाट ओझा दाजुभाईको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गौला पीडित श्रेष्ठलाई अमेरिकाबाट ओझा दाजुभाईको सहयोग

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७७, सोमबार

    तनहुँ । तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारमा सहयोग पु¥याउन अमेरिकाबाट सहयोग प्राप्त भएको छ । व्यास नगरपालिका-४ घर भई हाल अमेरिकाको न्युयोर्क बस्नुहुने डा. अविन ओझा र सिटल बस्नुहुने अरुण ओझाले श्रेष्ठको उपचारका लागि रु १२ हजार सहयोग गर्नुभएको हो ।

    कामको शिलशिलामा गत साउन २१ गते करेन्ट लागेर छोरा गुमाउनुभएका मिर्गौला पीडित श्रेष्ठलाई उपचारमा सहयोग पुगोस् र अन्यलाई पनि सहयोग गर्ने प्रेरणा जगाउन आफूहरुले सहयोग गरेको डा. अविन ओझाले बताउनुभयो ।

    उहाँका भाई अरुण ओझाले मिर्गौला पीडित श्रेष्ठको परिवारका बारेमा सामाजिक सञ्जालबाट थाहा पाएपछि केही सहयोग गर्ने इच्छा भएकाले थोरै रकम भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । आफ्नै ठाउँको व्यक्तिलाई परेको पीडामा केही मलम लगाउन सकियोस् भन्नका लागि आफूहरुले उक्त सहयोग गरेको ओझाले बताउनुभयो ।

    उक्त रकम खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस)का दमौली प्रतिनिधि कृष्ण न्यौपानेले सोमबार पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।
    सोही अवसरमा पत्रकार न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा रु पाँच हजार रकम मिर्गौला पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । रकम सानो भएपनि सबैले थोरै थोरै सहयोग गरे श्रेष्ठको उपचारका लागि ठूलो सहयोग पुग्ने पत्रकार न्यौपानेले बताउनुभयो ।

    रकम हस्तान्तरणका अवसरमा मिर्गौला पीडित श्रेष्ठको उपचारका लागि सहयोग गर्न गठन गरिएको म्याग्दे दमौली सम्पर्क समाजका सदस्य एवं पत्रकार विवि श्रेष्ठ समेत उपस्थित हुनुहुन्थ्यो ।