काेराेना रिपाेर्ट नेगेटिभ आएपनि ‘नजरबन्द’मा राखिएकाे आराेप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काेराेना रिपाेर्ट नेगेटिभ आएपनि ‘नजरबन्द’मा राखिएकाे आराेप

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिकाका एक कर्मचारीले आफूलाई कोरोना रिपोर्ट नेगेटिभ आएपनि सामाजिक बहिष्कार गरिएको बताउनुभएकाे छ । ती कर्मचारीले रिपोर्ट नेगेटिभ आउँदाआउँदै आफूलगायत परिवारलाई सामाजिक बहिष्कार गर्ने काम भएको आरोप लगाउनुभएकाे हाे ।

    भानु नगरपालिकामा कार्यरत ओभरसियर सञ्जीव अधिकारीको दश दिनअघि कोरोना परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ आयो । उहाँसँगै काम गर्ने इञ्जिनियरलाई भने सङ्क्रमण देखिएको थियो । कोरोना रिपोर्ट नेगेटिभ देखिएपनि नगरपालिकाले आआफ्नो घरमा बस्न भन्दै कर्मचारीलाई घर पठाएकाे थिए ।

    सन्जीव भने आफ्नो घरमा बस्ने ठाउँको अभाव भएको भन्दै भानु ११ स्थित दिदी अञ्जना अधिकारी पौडेलको धन्सारमा गएर छुट्टै बस्नुभएकाे छ । उहाँले शौचालय पनि छुट्टै प्रयोग गर्नुभएकाे छ । उहाँको दिदी अञ्जना भानु ११ स्वास्थ्यचौकीमा कार्यरत अनमी हुनुहुन्छ ।

    टोलबासीले भने आफ्नो घरमा नबसेर किन यसरी दिदीकोमा बस्ने आयो भन्दै विरोध जनाएका थिए। तत्काल बैठक बसेर छुट्टै बस्न भनिएको थियो । पुनः बिहीबार टोलको बैठक बस्दै सञ्जीव मात्र नभएर दिदी अञ्जनासहित सपरिवार नै घर बाहिर ननिस्कन उर्दी जारी गरेकाे पीडितले जानकारी दिएका छन् । सञ्जीवले भाञ्जीको हात समातेर हिँडेकाले सपरिवारलाई बाहिर ननिस्कनु भन्दै भ्रम फैलाउने काम भएको उहाँकाे गुनासाे छ ।

    आफूहरु पढेलेखेकै व्यक्ति भएकाले कोरोना रिपोर्ट नेगेटिभ आए पनि सुरक्षित रुपमा बसिरहेको बेला समाजले नै भ्रम फैलाएर आफू र दिदी भेनाजुलाई मानसिक तनाव दिने काम भएको भन्दै सञ्जीवले अफवाह फैलाउनेहरुमाथि कारवाही हुनुपर्ने माग गर्नुभएकाे छ ।

    सञ्जीवका दिदी अञ्जनाले भाइको रिपोर्ट नेगेटिभ भएको र सुरक्षित बसिरहेका बेला समाजमा भ्रम फैलाएर मानसिक तनाव दिएको आरोप लगाउनुभयाे । ‘घरबाट बाहिरै ननिस्कनु भन्छन्’ उहाँले भन्नुभयाे, ‘घरबाट बाहिर ननिस्के घाँसदाउरा, मेलापात कसले गरिदिन्छ ?’

    उक्त वडाका अध्यक्ष तारानरेश पौडेल भने सञ्जीवसँगै काम गर्ने, बस्ने इञ्जिनियरलाई कोरोना पोजेटिभ पुष्टि भएपछि सुरक्षित ढंगले बस्नु भनिएको तर नजरबन्द गर्ने काम नगरिएकाे बताउनुभयाे । नजरबन्दमा राखियाे भनेर हल्ला गरिएजस्ताे केही पनि नरहेकाे पाैडेलले बताउनुभयाे ।