


काठमाडौ, ५ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानबिन तथा कारबाहीको माग गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा राप्रपानिकट भनेर विवादमा तानिएका रविकिरण हमालले प्रधानमन्त्री कार्कीलाई पक्राउ गरी निष्पक्ष छानबिन थाल्न प्रहरी महानिरीक्षकलाई निवेदन दिएका हुन् ।
कार्कीले जेनजी विद्रोहका क्रममा देशका युवाहरूको रगतमाथि कु गरेर प्रधानमन्त्री पदमा आसीन भएको उनको आरोप छ ।
‘प्रधानमन्त्री कार्कीले जेनजी विद्रोहका क्रममा देशका युवाहरूको रगतमाथि सत्ता कु गरेर प्रधानमन्त्री पदमा आसीन भएको अवस्था छ। उहाँको यो कदमले कानूनी परम्परा र जनताको म्यानडेटको स्पष्ट उल्लङ्घन गरेको छ। यसरी अवैधानिक तरिकाले सत्ता कब्जा गर्नु देशको गरिमा, गोपनीयता र राष्ट्रिय मर्यादाविपरीत भएको र यसले गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गरेको देखिन्छ,’ हमालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको निवेदनमा उल्लेख छ ।
यस्तै उनले सुशीला कार्कीलाई तत्काल पक्राउ गरी निष्पक्ष, पारदर्शी र खुला कानूनी छानबिन गर्न माग गरेका छन् । ‘अपराधी जुनसुकै पदमा भए पनि कानूनी उत्तरदायित्वबाट उम्कन नपाओस् भन्ने हाम्रो दृढ विश्वास छ। यस विषयमा तत्काल र निष्पक्ष कारबाही होस् भन्ने अनुरोध गर्दछौं,’ उनको निवेदनमा थप लेखिएको छ ।