कोरोनाबाट एकैदिन १४ सङ्क्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोनाबाट एकैदिन १४ सङ्क्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, आईतवार

    काठमाडौं : आइतवार हालसम्मकै धेरै कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। १० जना पुरुष र ४ जना महिला गरी १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर हालसम्म २ सय २१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

    कहाँ कति?

    सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भयो। धरान नगरपालिका १७ नम्बर वडाका ७४ वर्षीया वृद्धा र ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो।

    वृद्धा मृतक ६० वर्षीय पुरुषकी कान्छी आमा हुन्।रुपन्देहीमा पनि दुई जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको हो।

    अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा उपचाररत बुटवल ५ का ६७ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। रुपन्देहीकै अर्का ५७ वर्षका पुरुषको पनि मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    भक्तपुरमा होम आइसोलेसनमा बसेका संक्रमितको पनि मृत्यु भएको छ।

    भक्तपुर नगरपालिकाको वडा १ दुधपाटीका एक जना कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको हो।रौतहटका एक पुरुषको पनि मृत्यु भएको छ। वीरगंजमा उपचारका क्रममा आइतवार बिहान मृत्यु भएको हो। मृत्यु हुने व्यक्ति रौतहटका ४० वर्षका पुरुष हुन्।

    यस्तै, ललितपुरमा पनि एक जना २९ वर्षका युवाको मृत्यु भएको छ।

    पाटन अस्पतालमामा उपचार गराइरहेका ललितपुरका २९ वर्षीय युवकको शनिवार राति १० बजे अस्पतालमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ।

    काठमाडौंका ७२ वर्षका महिलाको पनि आइतवार निधन भएको मन्त्रालयले जनाएको छ।मोहत्तरीमा तीन जनाको मृत्यु भएको छ। ७० र ३५ वर्षका पुरुष र ६२ वर्षका महिलाको पनि संक्रमणका कारण निधन भएको छ।

    यस्तै मोरङका ६२ वर्षका पुरुषको पनि निधन भएको मन्त्रालयले जनाएको छ।

    बारामा ४७ वर्षकी महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    नवलपरासी पूर्वका ६२ वर्षका पुरुषको पनि शनिवार नै संक्रमणका कारण निधन भएको छ।

    मन्त्रालयले हालसम्म १४ जनाको मृत्यु भएको बताए पनि चितवनमा भएको मृत्यु भने पुष्टि गरेको छैन।

    चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो। संक्रमितको उपचारका क्रममा आइतावा मध्यान्ह मृत्यु भएको थियो।

    भरतपुर ११ का ५२ वर्षका पुरुषको मृत्यु भएको थियो। भदौ ४ गते ज्वरो आएपछि अस्पतालमा भर्ना भएका उनमा ७ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका उनलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।