


दमौली, १४ फागुन । नेपाली कांग्रेसका नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले सामाजिक सञ्जालमा देखाइने विकासको भ्रममा नपर्न मतदाताहरूलाई विशेष आग्रह गरेका छन् ।
बिहीबार देवघाट गाउँपालिकाका मतदातालाई सम्बोधन गर्दै नेता भट्टराईले सामाजिक सञ्जालमा आकर्षक एजेन्डा र सुन्दर सपना बाँड्ने तर व्यवहारमा सिन्को नभाँच्ने प्रवृत्तिप्रति मतदाताहरू सचेत र शंकालु हुनुपर्ने बताए ।
उनले आफ्नो विकासको मोडेल सामाजिक सञ्जालमा फोटो प्रदर्शनी गर्ने मात्र नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने व्यवहारिक विकास भएको दाबी गरे । आफू ग्रासरुटबाटै संघर्ष गरेर उठेको नेता भएको स्मरण गराउँदै भट्टराईले पदमा रहँदा वा नरहँदा पनि यस क्षेत्रको खानेपानी समस्या समाधान, बाटो र पुल निर्माणका लागि निरन्तर खटिँदै आएको बताए ।