


चितवन, १६ चैत । बर्डफ्लु रोग पुष्टि भएपछि चितवनका दुई व्यावसायिक फार्मका १८ हजार बढी कुखुरा नष्ट गरिएको छ। भरतपुर-४ स्थित एउटा लेयर्स कुखुरा फार्म र एउटा लोकल कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर विजयकुमार श्रेष्ठले चैत १२ गते दुई फार्ममा बर्डफ्लु रोग पुष्टि भएको जानकारी दिए।
आइतबार सम्ममा १७ हजार ९५० लेयर्स कुखुरा र ९१३ लोकल कुखुरा नष्ट गरिएको छ।
‘बर्डफ्लु देखा परेपछि ती फार्म र फार्मको चार किल्लाभित्र पर्ने कुखुरा र दानालगायतका सामग्री नष्ट गरिएको छ। दुई फार्म करिब ५० मिटर फरकमा रहेछन्। सबै कुखुरा नष्ट गरिएको छ,’ डा.श्रेष्ठले भने, ‘रोग अन्यत्र फैलनबाट रोक्न सक्दो सावधानी अपनाइएको छ।’
लेयर्स कुखुरा अण्डाका लागि व्यावसायिक रूपमा पाल्ने गरिन्छ। लोकल कुखुरा पनि व्यावसायिक रूपमै पालिएको थियो।
