


काठमाडौं, २९ चैत । विवादित स्टाटसलाई लिएर क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।
प्रतिवन्धका कारण केसीले आजको म्याच खेल्न पाएनन् । आज नेपाल पुलिस र मधेसबीचको म्याचमा उनी छुटेका हुन् । करणले पुलिस टीमबाट खेल्दै आएका छन् । आजको म्याचको म्याच फी पनि काटिएको छ ।
करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको क्यानको ठहर छ । प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उनलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाइएको साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय भएको उल्लेख छ ।
करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्टाटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने उनको प्रश्न थियो । करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो ।
करणले हिजै उक्त स्टाटस हटाएर क्षमायाचना गरिसकेका छन् । तर, अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकले क्षमायाचनाले मात्रै नपुग्ने बताए ।
उनले भने, ‘यो गम्भीर विषय हो, क्षमायाचनाले मात्रै पुग्दैन । क्यानले आवश्यक कारबाही गर्छ भन्ने विश्वास छ ।’