


दमौली, १९ वैशाख । पृथ्वीराजमार्गको पुनर्निर्माणपछि दमौली बजार क्षेत्रमा देखिएको यातायात अव्यवस्थालाई व्यवस्थित गर्न भोर्लेटार चोकलाई केन्द्रबिन्दु बनाउँदै नयाँ व्यवस्थापन प्रणाली लागू गर्ने तयारी गरिएको छ ।
भोर्लेटारतर्फ जाने सवारी साधनहरूको अनियन्त्रित पार्किङ, बाइपास सडकमा ट्याम्पु स्ट्यान्डको अव्यवस्था तथा फुटपाथ अतिक्रमणका कारण बजार क्षेत्रको आवागमन थप जटिल बन्दै गएको छ । सोही समस्यालाई मध्यनजर गर्दै व्यास नगरपालिकाले सरोकारवालाहरूको बैठकको निर्णय सहित भोर्लेटार चोकलाई प्राथमिकता दिँदै दीर्घकालीन समाधान खोज्ने निर्णय गरेको हो ।
केही दिन अगाडी नगरपालिकामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, व्यास नगरपालिका वडा नं. २, ३ र ४ का जनप्रतिनिधिहरू, उद्योग वाणिज्य संघ तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो ।
बैठकले तत्कालका लागि व्यास–१ करङ्गकाठस्थित बसपार्कलाई अधिकतम प्रयोगमा ल्याउने र बजारभित्रको अव्यवस्थित पार्किङलाई नियन्त्रण गर्ने सहमति जनाएको छ । साथै भोर्लेटार चोक आसपासको यातायात प्रवाह, पार्किङ क्षेत्र र ट्याम्पु स्ट्यान्ड व्यवस्थापनबारे प्राविधिक अध्ययन गरी एकतर्फी आवतजावत प्रणाली लागू गर्ने विषयमा समेत छलफल भएको छ ।