पाेखरा : गण्डकी प्रदेशमा आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङले लाेकतन्त्रमा हार्नेकाे पनि सम्मान र कदर हुने बताउनुभएकाे छ । बिहीबार बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले पार्टीका नेता बामदेव गाैतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेपछि मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त धारणा सार्वजनिक गर्नुभएकाे हाे ।
नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका मन्त्री गुरुङले लाेकतन्त्रकाे कखरा नबुझ्नेहरुले मात्रै हारलाई उपहास र जितलाई सँधैकाे बपाैती ठान्ने प्रतिक्रिया दिनुभयाे । उहाँले भन्नुभएकाे छ, “लोकतन्त्रमा चुनाव हुँदा हार र जित हुन्छ । जित्नेले मात्र होइन, हार्नेले पनि निश्चित जनताको विश्वासको मत प्राप्त गरेको हुन्छ । जहाँसम्म जितको कुरा छ, त्यो गणितीय खेल मात्र हो ।”
गत प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित हुनुभएका नेता गाैतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएपछि सामाजिक सञ्जालमा पक्ष/विपक्षमा बहस भइरहेकाे छ ।