शुक्लागण्डकीमा शिशुको हत्या अभियोगमा आमा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा शिशुको हत्या अभियोगमा आमा पक्राउ

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८३, बिहीबार

    दमौली, १४ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    निजले प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए । उनले तत्काल शिशुलाई खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

    घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ परेकी थापाले ‘डिप्रेसन’ को औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । —