विश्व खाद्य स्वच्छता दिवसको अवसरमा घाँसीकुवा क्षेत्रमा अनुगमन, खान अयोग्य सामग्री नष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व खाद्य स्वच्छता दिवसको अवसरमा घाँसीकुवा क्षेत्रमा अनुगमन, खान अयोग्य सामग्री नष्ट

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८३, बिहीबार

    दमौली, २१ जेठ । “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित मनाइँदै आएको विश्व खाद्य स्वच्छता दिवस २०२६ अन्तर्गत सप्ताहव्यापी कार्यक्रमको चौथो दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीले घाँसीकुवा क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको छ।

    डिभिजन कार्यालयको टोलीले पृथ्वी राजमार्ग अन्तर्गत घाँसीकुवा क्षेत्रका होटल, खाद्य पसल तथा संवेदनशील खाद्य उद्योगहरूको अनुगमन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न आवश्यक निर्देशन दिएको छ। अनुगमनका क्रममा उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सम्बन्धित व्यवसायहरूमा क्युआर कोड सहितका सचेतनामूलक स्टिकर समेत टाँस गरिएको कार्यालय प्रमुख ज्योति आचार्यले बताए ।

    निरीक्षणका क्रममा केही व्यवसायमा म्याद नाघेका पेय पदार्थ, खाद्य रंग तथा बेकरीमा प्रयोग हुने सर्टेनिङ लगायतका अन्दाजी रु. २ हजार ५ सय बराबरका खान अयोग्य सामग्री फेला परेपछि ती सामग्री तत्काल नष्ट गर्न लगाइएको थियो।

    यसैबीच खाद्य उद्योग तथा व्यवसायीलाई लक्षित गर्दै खाद्य अनुमति पत्र प्राप्त गर्ने अनलाइन प्रणाली नेफिल्स सम्बन्धी जानकारी प्रदान गर्न हेल्प डेस्क सञ्चालन गरिएको थियो। हेल्प डेस्कमार्फत खाद्य उद्योगी तथा व्यवसायीलाई अनुमति पत्र प्राप्त गर्ने प्रक्रिया र अनलाइन सेवाबारे सहजीकरण गरिएको डिभिजन कार्यालयले जनाएको छ।