


दमौली, २३ जेठ । तनहुँ जिल्लाका विभिन्न स्थानमा पछिल्लो २४ घण्टाको अवधिमा तीन वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन् भने चार वटा सवारी साधनमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार जेठ २२ गते बिहान ६ बजेदेखि २३ गते बिहान ६ बजेसम्म जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा चार जना घाइते भएका हुन्।
उनका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, एक जनाको अवस्था मध्यम तथा दुई जनाको अवस्था सामान्य रहेको छ। घाइतेमध्ये एक जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनाका कारण चार वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। क्षति हुने सवारी साधनमध्ये दुई वटा ट्रकमा आंशिक क्षति पुगेको छ भने एउटा बोलेरो जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यसैगरी एउटा मोटरसाइकलमा पनि आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले सडक सुरक्षा नियमको पालना गर्न, सवारी साधनको प्राविधिक अवस्था नियमित परीक्षण गर्न तथा चालकलाई सावधानीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
फाइल फाेटाे