


दमौली, २ असार । तनहुँ जिल्लाको पोखरा–मुग्लिङ सडकखण्डमा पछिल्लो २४ घण्टाको अवधिमा ४ वटा सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार असार १ गते बिहान ६ बजेदेखि असार २ गते बिहान ६ बजेसम्म उक्त सडकखण्डमा भएका दुर्घटनामा ८ जना घाइते भएका हुन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ३ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । सामान्य घाइते भएका ३ जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ भने बाँकी ५ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेका छन्।
दुर्घटनामा संलग्न सवारी साधनहरूमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
व्यस्त तथा जोखिमयुक्त मानिने पोखरा–मुग्लिङ सडकखण्डमा सवारी चालकलाई गति नियन्त्रण, लेन अनुशासनको पालना तथा सावधानीपूर्वक सवारी सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले आग्रह गरेको छ। दुर्घटना न्यूनीकरणका लागि प्रहरीद्वारा नियमित रूपमा निगरानी तथा चालक सचेतना कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ।