


दमौली, २ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढीकरणका लागि सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसन अन्तर्गत ९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
सोमबार सञ्चालन गरिएको उक्त विशेष अभियानमा लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग नियन्त्रण लगायतका गतिविधिमा केन्द्रित भएर प्रहरी परिचालन गरिएको थियो।
अभियानका क्रममा नियन्त्रणमा लिइएका ९ जनामध्ये एक जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। अन्य व्यक्तिहरूको आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया पूरा गरी छाडिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। साथै कुनै पनि शंकास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।