तनहुँ प्रवेश गर्ने भारतीय चालकलाई ट्राफिक सचेतना, ३२१ जनालाई परामर्श
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ प्रवेश गर्ने भारतीय चालकलाई ट्राफिक सचेतना, ३२१ जनालाई परामर्श

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८३, आईतवार

    दमौली, १४ असार । तनहुँ प्रहरीले जिल्लामा प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारीसाधनका चालकलाई लक्षित गर्दै आइतबार दिनभर ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म जिल्लाका प्रमुख प्रवेश नाकाहरू इलाका प्रहरी कार्यालय बेलचौतारा र इलाका प्रहरी कार्यालय आबुखैरेनीमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा चालकलाई पृथ्वी राजमार्गको वर्तमान सडक अवस्था, सुरक्षित यात्रा, तोकिएको गति सीमाको पालना, ओभरटेक गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो।

    यस क्रममा इलाका प्रहरी कार्यालय बेलचौताराबाट २२२ जना र इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट ९९ जना गरी कुल तीन सय २१ चालकलाई सचेतना प्रदान गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले भारतीय पर्यटकको चाप बढ्दै गइरहेकाले चालकलाई ट्राफिक नियम पालना गराउँदै सुरक्षित यात्रा सुनिश्चित गर्नु प्रहरीको प्राथमिकता रहेको बताए। उनले तनहुँ भएर यात्रा गर्ने भारतीय चालकलाई सडकको अवस्थाअनुसार गति नियन्त्रण गर्न, जोखिमपूर्ण ओभरटेक नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको जानकारी दिए ।