सेती नदीमा हाम फालेकी युवतीको सकुशल उद्धार, स्थानीय युवा पोटबहादुरको साहसिक प्रयासको सर्वत्र प्रशंसा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सेती नदीमा हाम फालेकी युवतीको सकुशल उद्धार, स्थानीय युवा पोटबहादुरको साहसिक प्रयासको सर्वत्र प्रशंसा

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८३, शुक्रबार

    दमौली, २६ असार । व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको पुलबाट बिहीबार राति एक युवतीले हाम फालेपछि स्थानीय युवा, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा उनको सकुशल उद्धार गरिएको छ। घटनामा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका ऋषिङ गाउँपालिका–१ का स्थानीय युवा पोटबहादुर सारु मगरको साहस र मानवताको सर्वत्र प्रशंसा भइरहेको छ।

    बिहीबार राति युवतीले पुलबाट सेती नदीमा हाम फालेको खबर स्थानीयवासीले पाएलगत्तै पोटबहादुर कुनै समय नगुमाई घटनास्थल पुगेका थिए। नदीमा बगेकी युवतीलाई बचाउन उनले आफ्नै ज्यानको जोखिम मोलेर सेती नदीमा हाम फालेका थिए।

    नदीको तीव्र बहावका बीच पोटबहादुर युवतीसम्म पुग्न सफल भए। उद्धार टोली घटनास्थलमा आइपुग्न समय लाग्ने अवस्था देखिएपछि उनले युवतीलाई नदीको बीचभागमै करिब दुई घण्टासम्म समातेर सुरक्षित राखे। जोखिमपूर्ण अवस्थामा पनि उनले युवतीलाई बग्न नदिई धैर्यका साथ जोगाइराखेका कारण उनको ज्यान बचाउन सम्भव भएको बताइएको छ।

    घटनाको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो। आवश्यक उद्धार सामग्रीसहित पुगेको टोलीले करिब दुई घण्टापछि पोटबहादुर र युवती दुवैलाई सकुशल नदीबाट बाहिर निकालेको थियो। उद्धारपछि युवतीलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो ।

    घटनापछि आफ्नो अनुभव सुनाउँदै पोटबहादुरले आफू नदीको भौगोलिक अवस्था राम्रोसँग जान्ने भएकाले उद्धारका लागि अघि बढेको बताए।

    “नदीको बारेमा जानकारी भएकाले उद्धारका लागि गएँ। त्यहीँकै भएको भएर वस्तुस्थिति थाहा थियो। अरू जान सक्ने अवस्था थिएन। रातिको समय भएकाले अलि गाह्रो भयो। धन्न युवती नदीको बीचतिर अड्किएकी रहिछिन्, त्यसैले बगाउन पाएन,” उनले भने।

    उनका अनुसार रातिको अँध्यारो, नदीको बहाव र उद्धार सामग्रीको अभावका कारण उद्धार निकै चुनौतीपूर्ण बनेको थियो। तर, उद्धार टोली नआउँदासम्म युवतीलाई छोडे ज्यान जोखिममा पर्ने भएकाले उनले धैर्यपूर्वक समातेर राखेका थिए।

    स्थानीयका अनुसार पोटबहादुरले देखाएको साहस, मानवता र जिम्मेवारी अनुकरणीय रहेको छ। आफ्नो व्यक्तिगत सुरक्षाभन्दा एक अपरिचित व्यक्तिको जीवन बचाउन प्राथमिकता दिँदै उनले देखाएको तत्परताको स्थानीयबासीले उच्च मूल्यांकन गरेका छन्। सामाजिक सञ्जालमा समेत उनको प्रशंसा गर्दै धेरैले उनलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरिरहेका छन्।

    जोखिमपूर्ण परिस्थितिमा संयमता र साहसका साथ गरेको प्रयासका कारण एउटा अमूल्य जीवन जोगिन सफल भएको भन्दै स्थानीयले पोटबहादुरलाई वास्तविक नायकको संज्ञा दिएका छन्। घटनाले संकटको समयमा स्थानीय समुदायको सक्रियता, मानवीय संवेदना र सुरक्षाकर्मी तथा नागरिकबीचको समन्वयले ठूलो दुर्घटनासमेत टार्न सकिने सन्देश दिएको छ।