दमौलीमा पनि एमआरआर भजन सञ्चालन गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा पनि एमआरआर भजन सञ्चालन गरिने

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८३, शनिबार

    दमौली, १६ साउन । धार्मिक, सांस्कृतिक तथा नैतिक चेतनालाई पुस्तान्तरण गर्ने उद्देश्यले दमौलीमा एमआरआर शैलीको भजन–कीर्तन अभियान सुरु गर्ने तयारी गरिएको छ। यसका लागि शनिबार व्यास ५ स्थित परासर क्षेत्रमा सम्पन्न स्थानीय युवाहरूको भेलाले एमआरआर व्यास परासर भजन समूह नामकरण सहित तदर्थ समिति गठन गरिएको छ।

    स्थानीय कीर्तनकार तथा समाजसेवी तेजप्रसाद लामिछानेको अगुवाइमा सम्पन्न भेलामा सहभागीहरूले दमौलीमा नियमित रूपमा भजन–कीर्तन सञ्चालन गरी धार्मिक संस्कार, सामाजिक एकता र सकारात्मक जीवनशैलीको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा विस्तार हुँदै गएको एमआरआर भजन अभियानलाई दमौलीमा पनि व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यका साथ समूह गठन गरिएको अगुवा लामिछानेको भनाइ छ।

    भेलाले सर्वसम्मत रूपमा सञ्जीव वाग्लेको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिको सचिवमा शिव न्यौपाने, कोषाध्यक्षमा रामबाबु रेग्मी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा तेजप्रसाद लामिछाने, हरिप्रसाद तिवारी, कपिल काफ्ले रहेका छन्। समितिको उपाध्यक्ष, सहसचिव र एक सदस्यपछि चयन गरिने बताइएको छ।

    नवनिर्वाचित समितिले आगामी शनिबारदेखि नै अनसन चौतारी परिसरबाट नियमित भजन–कीर्तन कार्यक्रम सञ्चालन गर्ने बताएको छ। स्थानीय युवालाई अभियानसँग जोड्ने तथा धार्मिक एवं सामाजिक सद्भाव अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम अघि बढाउने समितिको लक्ष्य रहेको छ। भजनमार्फत समाजमा नैतिकता, अनुशासन, आपसी सहयोग र आध्यात्मिक चेतनाको विकास गर्न सकिने विश्वास भेलामा सहभागीहरूले व्यक्त गरेका छन्। स्थानीय युवाहरूका अनुसार पछिल्लो समय एमआरआर अभियानअन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालन भइरहेका भजन–कीर्तन कार्यक्रमले सकारात्मक सामाजिक सन्देश प्रवाह गरिरहेका छन्।

    यही प्रेरणालाई व्यास परासर क्षेत्रमा पनि विस्तार गर्दै समुदायलाई आध्यात्मिक र सामाजिक रूपमा अझ सशक्त बनाउने लक्ष्यका साथ ‘एमआरआर व्यास पाराशर भजन समूह’ गठन गरिएको बताइएको छ ।