तनहुँ/ गण्डकी प्रदेश र प्रदेश नं ५ जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा मोटरेवल पुल निर्माण शुरु भएको छ । जिल्लाको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्न कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण शुरु गरिएको हो ।
तनहुँ तर्फको भागमा पहिलो पिल्लरको फाउण्डेशन ढलान गर्नका लागि काम शुरु गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । शुरुमा रु २६ करोड लागत रहेको पुलको अहिले लागत बढेर रु २८ करोड ३० लाख पुगेको छ । पहिल्यै निर्माण शुरु हुनुपर्ने पुलको काम विविध कारणले रोकिँदै आएको थियो ।
निर्माण शुरु भएको २० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि अहिलेकै अवस्थामा तोकिएकै मितिमा पुल निर्माण हुन समस्या पर्ने सिग्देलले बताउनुभयो । “गुणस्तरीय पुल निर्माणका लागि उपभोक्ताहरुले निरन्तर रुपमा अनुगमन गर्नेछौ, निर्माण सम्पन्न अवधि केही पछाडी धकेलिन सक्छ ।”
२ सय १० मिटर लामो पुलको निर्माणको जिम्मा काठमाडौस्थित युनाइटेड विल्डर्सले पाएको छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । उपभोक्ता समिति गठन भएको छ महीनाभित्र बजेट पर्न सफल यस पुल डबल लेन प्रविधिमा निर्माण हुनेछ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य भएको स्थानीय माया दरैले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रुपमा आवातजावात गर्न सकिन्छ ।” मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौ सर्वसाधारण लाभान्वित हुनेछन् ।