तनहुँ/कृषकलाई पशुपालनतर्फ आकर्षित गर्न प्रोत्साहन गर्ने उद्देश्य सहित तनहुँको बन्दीपुर गाउँपालिकाले दूधमा अनुदान दिएको छ । गाउँपालिकाले दूध उत्पादन गर्ने कृषकलाई प्रति लिटर रु एकका दरले अनुदान वितरण गरेको हो ।
वार्षिक बजेटमा नै समावेश गरी गाउँपालिकाले सहकारीमार्फत् दूध विक्री गर्ने कृषकलाई अनुदान वितरण गरेको गाउँपालिकाका पशु शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर गाउँपालिका–१ स्थित सूर्योदय दूग्ध उत्पादक सहकारी संस्था र बन्दीपुर गाउँपालिका–५ याम्पा दूग्ध उत्पादक सहकारी संस्थाका कृषकले अनुदान रकम पाएका छन् ।
न्यौपानेका अनुसार सूर्योदय दूग्ध उत्पादक सहकारीमा आबद्ध कृषकलाई रु एक लाख १७ हजार पाँच सय वितरण गरिएको छ भने याम्पा दूग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकलाई रु १० लाख अनुदान बापत वितरण गर्ने तयारी गरिएको छ । कृषकले बढीमा रु ७० हजारसम्म अनुदान रकम प्राप्त गरेका छन् ।
बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सहकारीमार्फत् दूध विक्री गर्ने कृषकलाई प्रोत्साहन गर्न दूधमा अनुदान दिने नीति ल्याइएको जानकारी दिनुभयो । “दूध विक्री भएको तथ्याङ्कका आधारमा कृषकलाई अनुदान दिने व्यवस्था मिलाएका छौ,” पोख्रेलले भन्नुभयो, “यस कार्यक्रमले कृषक निकै उत्साहित छन् ।” कृषकले आगामी वर्ष दूधमा अनुदान रु दुईसम्म वृद्धि गर्न माग गरेका छन् ।
सूर्योदय दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीले गत साउनदेखि जेठ मसान्तसम्म कृषकलाई एकमुष्ठ रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । दूधमा अनुदान पाएपछि यहाँका कृषक खुशी रहेको खातीले बताउनुभयो ।
याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष छविलाल घिमिरेले सहकारीमा दूध विक्री गर्ने कृषकलाई रु १० लाख २९ हजार वितरणको तयारी गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले प्रति लिटर रु एक अनुदान दिने र सहकारीले पनि रु एक थपेर दिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । “गाउँपालिकाले जति रकम अनुदान दिन्छ, त्यति नै सहकारीले पनि दिने सम्झौता भएको थियो, केही दिनभित्रै उक्त रकम वितरण गर्छौ,” उहाँले भन्नुभयो ।
उक्त सहकारीमा एक सय १५ शेयर सदस्य र १५ गैह्र सदस्यले दैनिक दूध विक्री गर्ने गरेका छन् । गत वर्ष दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन हुने गरेकामा यो वर्ष दैनिक तीन हजार छ सय लिटर दूध मात्रै सङ्कलन भएको थियो । कोरोना र बन्दाबन्दीका कारण दूध उत्पादन घटेको सहकारीले जनाएको छ ।
याम्पाका कृषक काशीनाथ भट्टराईले दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई प्रोत्साहन मिल्ने बताउनुभयो । “दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई पशुपालनमा लागिरहन प्रेरणा मिल्छ, आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ,” उहाँले भन्नुभयो ।
दूधमा अनुदान वितरण गर्नका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको थियो भने उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्ष ०७७÷७८ मा पनि निरन्तरता दिइएको छ ।
गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन जरुरी रहेको गाउँपालिकाले जनाएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेपछि गाउँपालिका दूधमा आत्मनिर्भर हुने र त्यसकै लागि कृषकलाई अनुदानको व्यवस्था मिलाइएको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । गाउँपालिकाले दूध चिस्यान केन्द्रको स्थापना गरी स्थानीय कृषकहरुबाट उत्पादित दूधलाई चिस्यानकेन्द्र मार्फत् बजारमा सहज पहुँच पु¥याउने नीति अवलम्बन गरेको छ ।