तनहुँ/पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे आँबुखैरेनी गाउँपालिकास्थित एनापहरा बाहेक विभिन्न ठाउँमा मङ्गलबार खसेकाे पहिराे हटाइएकाे छ । म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिकामा खसेकाे पहिराे हटाएर राजमार्ग सुचारु गराइएकाे छ भने आँबुखैरेनीस्थित एनापहराकाे पहिराे हटाउन काम भइरहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले ऐनापहरामा मात्रै पहिरा हटाउन बाँकी रहेको र अन्य सबै स्थानको पहिरा हटाइसकिएको जानकारी दिनुभयो । “बिहानदेखि अवरुद्ध रहेका ऐनापहरा बाहेक अन्य सबै ठाउँको पहिरा हटाइसकिएको छ, ऐनापहरामा पनि अबको एक घण्टाभित्र पहिरा हटाउने गरी काम भइरहेको छ,” पौडेलले भन्नुभयो ।
सोमबार राति परेको वर्षाले पहिरा खसेर पृथ्वीराजमार्ग अन्तर्गत तनहुँका विभिन्न खण्डमा आज बिहानैदेखि बाटो बन्द भएको थियो । म्याग्दे गाउँपालिका–१ गुणादी, व्यास नगरपालिका–३ स्थित मादी नदी, बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराले राजमार्ग अवरुद्ध भएको थियो ।
यस्तै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक भासिएर अवरुद्ध रहेको राजमार्ग डाइभर्सन बनाएर सुचारु गरिएको छ । सडक भासिएर बिहान ८ बजेदेखि अवरुद्ध रहेको राजमार्ग दिउँसो २ः३० बजेबाट सञ्चालनमा आएको हो । करीब १० मिटर सडक भासिएर खाल्डो परेको थियो ।
सडक भासिएको ठाउँभन्दा माथिपट्टिको जग्गालाई खनेर डाइभर्सन बनाएर राजमार्ग सुचारु गरिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । डाइभर्सन बनाएपनि उक्त ठाउँबाट ठूला सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको र साना सवारी साधन मात्रै सञ्चालन गराइएको श्रेष्ठले बताउनुभयो ।
“उक्त ठाउँमा ग्राभेलिङ नगरेसम्म ठूला सवारी साधन चल्न सक्दैनन्, हाललाई साना सवारीसाधन मात्रै सञ्चालन गर्न मिल्ने गरी बनाइएको छ,” उहाँले भन्नुभयो, “केही दिनमै ग्राभेलिङ गरेर सबै सवारी साधन सञ्चालन गर्न मिल्ने तयारी गरिएको छ ।”