खरकाे छानाे हटाएर जस्तापाता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खरकाे छानाे हटाएर जस्तापाता

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७७, शनिबार

    तनहुँ/सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत तनहुँका एक हजार पचास घरधुरीमा खरको छाना विस्थापित गरिने भएको छ । शहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७७/७८ मा खरको छाना हटाएर जस्तापाताको छानो छाउन बजेट विनियोजन भएको छ ।

    तनहुँ क्षेत्र नं १ का पाँच वटा स्थानीय तहका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरको छानो विस्थापनका लागि रु पाँच करोड २५ लाख बजेट विनियोजन भएको सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । खरको छानो विस्थापनका लागि प्रत्येक घरधुरीले रु ५० हजारका दरले रकम पाउनेछन् ।

    सांसद श्रेष्ठका अनुसार देवघाट गाउँपालिकाका २ सय १२, आँबुखैरेनी गाउँपालिकाका १ सय ९२, बन्दीपुर गाउँपालिकाका १ सय ९१, भानु नगरपालिकामा २ सय ३६ र व्यास नगरपालिकाका २ सय १९ घरधुरीको खरको छानो विस्थापन गरिँदैछ । चालु आर्थिक वर्षमा तनहुँका दुई सय ५० घरधुरीमा खरको छानो विस्थापन गरिएको थियो ।

    सरकारले बजेट भाषण मार्फत संविधानमा उल्लेखित मौलिक हक अन्तर्गतको सुरक्षित आवासको अधिकारलाई कार्यान्वयनमा ल्याउन सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालनमा ल्याएको छ । सुरक्षित आवास समन्वय समिति तनहुँ क्षेत्र नं १ का संयोजक एवं सङ्घीय सांसद श्रेष्ठका अनुसार गरिबीको रेखामुनी रहेका तथा प्राकृतिक प्रकोपबाट पीडित भई घरबारविहिन भएका घर परिवारले सुरक्षित आवास निर्माण गर्न चाहेमा सहुलियत दरको काठ र जस्तापाता खरिद गर्न रकम उपलब्ध समेत गराइनेछ ।

    उक्त कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सांसदको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख, कार्यक्रम सञ्चालन हुने स्थानीय तहका प्रमुख सदस्य र शहरी विकास तथा भवन निर्माण डिभिजन विभागका प्रतिनिधि सदस्य सचिव रहने गरि सुरक्षित नागरिक आवास समन्वय समिति गठन गरिएको छ ।

    कार्यक्रम सञ्चालन हुने स्थानीय तहका वडा कार्यालय मार्फत सुरक्षित आवास निर्माण गर्न चाहने नागरिकको निवेदन सङ्कलन गरिनेछ । उक्त समितिले प्राप्त निवेदनको आधारमा प्राविधिक सहित निर्धारित विभिन्न मापदण्डमा आधारित रहेर घरधुरीको पहिचान गरि सुरक्षित आवास निर्माण गर्न रकम उपलब्ध गराउनेछ ।

    सो रकमबाट नागरिकले काठको प्रयोग गरि जस्तापाताले छाना छाउने र पानीको सुविधाको लागि दुई हजार लिटरको पानी ट्याङ्कीको समेत निर्माण गर्न सक्नेछन् । घर छनौट गर्दा प्राकृतिक प्रकोपले घरविहिन भएका र अति गरिबीको रेखामुनी रहेकाहरुलाई छनौट गरिने र सर्तनामा गराई दुई किस्तामा रकम उपलब्ध गराईनेछ ।