तनहुँ/नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई केन्द्रीय अनुशासन समितिले पार्टीबाट निष्काशन गरेपछि गृहजिल्ला तनहुँमा एक किसिमको तरङ्ग उत्पन्न भएको छ । जोशीलाई गरिएको कारवाही फिर्ता निकटका कार्यकर्ताले माग गरेका छन् । जोशी निकटका नेता तथा कार्यकर्ताले कारवाही फिर्ताको निर्णय नभए पार्टीबाट सामूहिक राजीनामा दिने पत्रकार सम्मेलन गरेरै घोषणा गरेका छन् ।
यसै विषयलाई लिएर काङ्ग्रेस जिल्ला सभापति बैकुण्ठ न्यौपानेले सोमबार साँझ ट्विटरमा ट्विट गर्नुभयो – भावनामा बगेर आफ्नो राजनैतिक भविष्य सङ्कटमा नपारौ । व्यास नगरपालिकाका प्रमुख समेत रहनुभएका न्यौपानेले जोशी निकट कार्यकर्तालाई इङ्गित गरेर कोही कारवाही पर्दैमा भावना नबग्न आग्रह गर्नुभएको हो ।
काङ्ग्रेसको इतिहासमा अनुशासनका कारवाही भएका थुप्रै उदाहरण भएको भन्दै न्यौपानेले कारवाही विधानत पार्टी बचाउन र निष्ठा बनाइराख्न गरिने उल्लेख गर्नुभयो । “सबै कार्यलाई उस्तै कारवाही हुनु नपर्ने थियो, कोही कारवाही पर्दैमा भावनामा बगेर राजनैतिक भविष्य सङ्कटमा नपारौ, गलत नगर्नेलाई पूर्वाग्रह राखिनेछैन ।”