तनहुँ/पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ । अविरल परेको वर्षासँगै साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।
डिभिजन सडक कार्यालय तनहुँले भासिएको सडक मर्मत गरेर पुरानै अवस्थामा फर्काएपछि राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालयले शनिबारदेखि सडक मर्मतको काम थालेको थियो । उक्त खण्ड शनिबार रातिदेखि एकतर्फी सञ्चालन भएको थियो ।
सडक भासिएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग बनाइएपनि वैकल्पिक मार्गमै सवारी साधन फस्न थालेका थिए । वैकल्पिक मार्गमै पटक–पटक सवारी फस्न थालेपछि शनिबार बिहानैदेखि राजमार्ग बन्द गरेर मर्मतको शुरु गरिएको थियो ।