तनहुँ । तनहुँको सदरमुकाम दमौलीको ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले व्यास नगरपालिकाले ट्राफिक प्रहरीलाई सङ्केत सामग्री हस्तान्तरण गरेको छ । बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्नका लागि नगरपालिकाले ट्राफिक प्रहरी कार्यालयलाई रु एक लाख बराबरको सङ्केत सामग्री मङ्गलबार हस्तान्तरण गरेको हो ।
ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको सामग्रीमा २० थान फ्लेक्स बोर्ड र १५ थान रिफ्लेक्टिभ बोर्ड रहेका छन् । उक्त सामग्री व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेल र ट्राफिक प्रहरी नायब निरीक्षक रेशम रानाभाटलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख न्यौपानेले सदरमुकामको ट्राफिक व्यवस्थापन गर्नु नगरपालिकाको पनि दायित्व भएको बताउनुभयो । जथाभावी सवारी पार्किङ गरिदिँदा बजार अस्तव्यस्त हुने गरेकाले सहयोग गरिएको सामग्रीले सवारी व्यवस्थापनमा सहयोग पुग्ने न्यौपानेले बताउनुभयो ।
ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि एक वर्षभित्र जग्गा उपलब्ध गराउने सो अवसरमा न्यौपानेले प्रतिबद्धता जनाउनुभयो । बजारका केही ठाउँमा प्रत्येक हप्ता आलोपालो पार्किङ र केही ठाउँमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको न्यौपानेले बताउनुभयो ।
प्रहरी उपरिक्षक पौडेलले ट्राफिक व्यवस्थापनका लागि स्थानीय तहले सामग्री सहयोग गर्नु सकारात्मक रहेको भन्दै ट्राफिक व्यवस्थापनका लागि स्थानीय तहसँग मिलेर काम गर्ने बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख रानाभाटले स्थानीय तहले सामग्री प्रदान गरेपछि प्रहरीलाई काम गर्न हौसला मिल्ने र सामग्रीले ट्राफिक व्यवस्थापनमा सहजता आउने बताउनुभयो । “जथाभावी सवारी चलाउने, अस्तव्यस्त सवारी पार्किङ व्यवस्थापनका लागि ट्राफिक सङ्केत सामग्रीले सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो । अत्याधिक दुर्घटना हुने राजमार्गका विभिन्न स्थानमा चालकलाई जानकारी गराउन सचेतनामूलक सामग्री राख्न स्थानीय तहसँग समन्वय गरिने रानाभाटले बताउनुभयो । पृथ्वीराजमार्गको ७२ किमि सडकखण्ड रहेको तनहुँमा दैनिक पाँच वटा सवारी दुर्घटना हुने गरेको छ ।