प्रशासनद्वारा रु साढे दुई करोड राजश्व सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    प्रशासनद्वारा रु साढे दुई करोड राजश्व सङ्कलन

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बिहीबार

    तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६/७७ मा रु दुई करोड ५७ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले राहदानी दस्तुर, सङ्घसंस्था दर्ता नवीकरण, हातहतियार इजाजत तथा नवीकरण, प्रशासनिक दण्ड जरीवाना लगायतबाट एक वर्षको अवधिमा रु दुई करोड ५७ लाख ५५ हजार एक सय ३३ राजश्व सङ्कलन गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार राहदानीबाट रु दुई करोड ३६ लाख ९४ हजार, सङ्घसंस्था दर्ता तथा नवीकरणबाट रु ६ लाख ८७ हजार चार सय ८३, हातहतियार इजाजत तथा नवीकरणबाट रु एक लाख पाँच हजार ५०, प्रशासनिक दण्ड जरीवानाबाट रु १२ लाख २६ हजार पाँच सय ५० र अन्यबाट रु ४२ हजार ५० राजश्व सङ्कलन भएको छ ।

    कार्यालयले यस अवधिमा ६ हजार ३१ नागरिकता वितरण गरेको छ भने ४ हजार १५ प्रतिलिपि नागरिकता वितरण गरेको जनाएको छ । साथै ४ हजार ४ सय ६२ राहदानी फारम सङ्कलन, १ हजार २ सय ९६ दु्रत सेवा सिफारिस, ४ हजार ५ सय ५२ नागरिकता बुक वितरण गरिएको छ ।

    सहायक प्रजिअ बरालका अनुसार १ हजार ८ सय ४५ व्यहोरा प्रमाणित, २ सय ५५ नाबालक परिचयपत्र वितरण, १ हजार १ सय ९५ पारिवारिक पेन्सन केश, शपथपत्र र रहलपहल सम्बन्धी सिफारिस, ११ संस्था दर्ता, ५ सय ८१ संस्था नवीकरण, १ छापाखाना दर्ता, ४ हातहतियार नामसारी भएको छ । प्रकोप पीडितलाई रु २३ लाख ९६ हजार राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।

    ४९ मुद्दा फछ्र्यौट

    कार्यालयमा दर्ता भएका ४९ अभद्र व्यवहारका मुद्दा सोही अवधिमा फछ्र्यौट भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष ०७५÷७६ को जिम्मेवारी सरी आएका २० र आर्थिक वर्ष ०७६÷७७ मा दर्ता भएका २९ मुद्दा फछ्र्यौट भएको कार्यालयले जनाएको छ । त्यस्तै जुवाका दुई, मादक पदार्थ सेवनका १३ मुद्दा फछ्र्यौट भएको कार्यालयले जनाएको छ ।

    जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न, उचित वातावरण सिर्जना गरी जिल्लाका विकास आयोजनाहरु सञ्चालनमा आवश्यक सहयोग र समन्वय गर्ने, जिल्लामा रहेका सरकारी तथा सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्ने लगायतका काम प्रशासन कार्यालयले गर्दै आएको छ ।