व्यास नगरपालिकामा विभिन्न विषयगत समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकामा विभिन्न विषयगत समिति गठन

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बिहीबार

    तनहुँ । तनहुँको व्यास नगरपालिकामा विभिन्न विषयगत समितिहरु गठन गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिकाको बैठकले पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, सार्वजनिक सेवा तथा सुशासन समिति, वन तथा वातावरण समिति र विधायन समितिमा संयोजक चयन गरेको हो ।

    पूर्वाधार विकास समितिमा व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटा, आर्थिक विकास समितिमा व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठ, सामाजिक विकास समितिमा कार्यपालिका सदस्य तमबहादुर दरै, सार्वजनिक सेवा तथा सुशासन समितिमा व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, वन तथा वातावरण समितिमा व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपाने र विधायन समितिमा कार्यपालिका सदस्य अमृत नेपाली संयोजक चयन हुनुभएको छ ।

    बैठकले नगरपालिकाभित्र भएका विपद् अन्तर्गतका पुर्नस्थापना कार्यहरुको समिक्षा गरी आवश्यक थप कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । कोभिड–१९ का असर, चुनौति र समस्या समाधानका तत्कालिन उपायहरुको खोजी गर्ने निर्णय भएको छ । विद्यालयबाट क्वारेन्टिन हटाउने निर्णय गरिसकेको नगरपालिकाले वैकल्पिक स्थानको लागि व्यास नगरपालिका–२ स्थित कृषि विकास बैंकको भवन मर्मत सम्भार गरी व्यवस्थित गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकामा ७ सय ६२ जना विदेशबाट आएका, ५ सय ६० क्वारेन्टिन र २ सय ५५ होम क्वारेन्टिनमा बसेको, ५५ जना आइसोलेशनमा राखिएको थियो । यस अवधिमा ७ सय ७५ जनाको पिसिआर परीक्षण गरिएकामा २९ जनामा पोजिटिभ देखिएको थियो भने १ सय १५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।