काठमाडौ । स्पेनिस ला लिगा क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको शीर्ष १६ को दोस्रो लेगमा इटालियन क्लब नेपोलीलाई ३-१ पराजित गर्दै समग्रमा ४-२ गोलसहित च्याम्पियन्स लिगको शीर्ष आठमा प्रवेश गरेको हो ।
नेपोलीको घरेलु मैदानमा भएको पहिलो लेगमा १-१ को बराबरी खेलेको बार्सोनालाई क्याम्प नाउँमा जित दिलाउन क्लेमेन्ट लेङ्लेटले, लियोनल मेस्सी र लुइस सुआरेजले एक एक गोल गरे । नेपोलीका लागि लोरेन्जो इन्साइनले एक गोल फर्काए ।
खेलको १० औं मिनेटमा लेङ्लेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले इभान रेकिटिकको पासमा गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाए । २३ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दा अग्रता दोब्बर भयो ।
पहिलो हाफको इन्जुरी समयमा सुआरेजले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई ३-० गोलको अग्रता दिलाए । यसै इन्जुरी समयमा नेपोलीका लोरेन्जोले पेनाल्टीमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर दोस्रो हाफमा दुबै टोलीबाट कुनै थप गोल हुन नसक्दा खेल बार्सिलोनाले ३-१ गोलले जितेको हो ।
अब बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेशका लागि जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखको समना गर्ने छ । बायर्नले शनिबार राति नै भएको खेलमा प्रीमियर लिग क्लब चेल्सीलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको छ ।