व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा लकडाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा लकडाउन

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७७, आईतवार

    तनहुँ । समुदाय स्तरमा कोरोना फैलिन थालेपछि तनहुँको व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले भदौ १ गतेदेखि आ–आफ्ना पालिकामा लकडाउन गर्ने निर्णय गरेका छन् । सम्बन्धित पालिकाको आज बसेको बैठकले भदौ १ गते सोमबारदेखि लकडाउन गर्ने निर्णय गरेका हुन् ।

    समुदायका व्यक्तिमा कोरोना देखिन थालेपछि जोखिम न्यूनीकरणका लागि भदौ ७ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरप्रमुख न्यौपानेका अनुसार स्वास्थ्य, सरसफाई र अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गर्ने निर्णय गरिएको छ ।

    बैठकले तनहुँ उद्योग वाणिज्य सङ्घ र स्थानीय बैङ्कहरुबाट अनुरोध भई आएमा आपसी सहकार्य र सहभागितामा सङ्क्रमण सम्भावित जोखिम रहेका क्षेत्रमा पिसीआर परीक्षणको दायरा बढाउन नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक समन्वय गरी व्यवस्थापन मिलाउने निर्णय गरेको छ । नगरप्रमुख न्यौपानेले अत्यावश्यक काम परेमा स्वास्थ्य सुरक्षा अपनाई घर बाहिर निस्कन तर बिना काम घर बाहिर निनिस्कन नगरवासीमा आग्रह गर्नुभएको छ ।

    यस्तै आँबुखैरेनी गाउँपालिकाको आजै बसेको बैठकले छिमेकी पालिकाका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको र त्यसले गाउँपालिका जोखिममा परेकाले भदौ ७ गतेसम्म लकडाउन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । “कोरोना सङ्क्रमण देखिएको पालिकाबाट मानिसहरु कामको शिलशिलामा आँबुखैरेनी आवतजावत हुने र त्यसले आम नागरिक, उद्योगी, व्यवसायी, व्यापारी, कर्मचारी लगायत उच्च जोखिममा परेपछि लकडाउन गर्ने निर्णय गरिएको हो,” थापाले भन्नुभयो । उहाँका अनुसार अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द हुनेछ । लकडाउन उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने गाउँपालिकाले जनाएको छ ।

    यसअघि तनहुँको बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका र भानु नगरपालिकामा पनि लकडाउन गरिसकिएको छ ।