सुदूरपश्चिममा बाढी–पहिरोबाट एकै दिन १० जनाको मृत्यु, १७ बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुदूरपश्चिम

    सुदूरपश्चिममा बाढी–पहिरोबाट एकै दिन १० जनाको मृत्यु, १७ बेपत्ता

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बुधबार

    कैलाली । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २÷२ जनाको मृत्यु भएको हो ।

    अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।

    गाउँपालिका अध्यक्ष झंकर साउदका अनुसार नन्दु साउदको परिवारका १० जना सम्पर्कविहीन छन्. । त्यस्तै बारलाका ४० बर्षका लालसरा शाह र उनका १० वर्षका छोरा पनि बेपत्ता भएका छन् । हिक्मत शाहको २ जनाको परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद पनि बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुष गरी दुई जनाको शव भेटिएको छ।

    यस्तै एक महिला र एक पुरुष गरी दुई जनाको शव दर्नास्थित कैलाश खोलाको किनारमा भेटिएको छ भने अर्का एक व्यक्तिको शव मंगलसेन नगरपालिका–१० जुपुस्थीत कैलाश खोला किनारमा भेटिएको हो।

    यस्तै एक जनाको शव मंगलसेन ३ स्थित दयमा भन्ने ठाउँमा भेटिएको डीएसपी थापाले जानकारी दिनुभयाे । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । बाढीले दर्नाको पक्की पुलसमेत बगाएको छ । बाढीले खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।

    कैलाश खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बताएको छ । हराइरहेकाहरुको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर अछाम पुगिसकेको छ ।सेनाको हेलिकप्टरमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको छ ।

    बझाङमा २ जनाको मृत्यु

    बुधबारनै बझाङको बुंगल नगरपालिका–५ मिडीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले जानकारी दिनुभयाे ।

    पहिरोले स्थानीय पिपला ताम्राकारको घर बगाउँदा उनका छोरा र आफन्तको मृत्यु भएको हो । ४० वर्षकी पिपला, उनकी छोरीहरु १८ वर्षकी छोरी सुनीता र १२ वर्षकी सन्तोषी र छोरा १६ वर्षका अनिल घाइते भएका छन् । घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ

    बाजुरामा पनि बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका– १ मा मीनबहादुर बुढाको घर पहिरोले पुरिँदा ३ वर्षकी छोरी सुमिका बुढाको मृत्यु भएको छ । उनकै ५ वर्षकी छोरी विनीता, आमा ६५ वर्षकी नन्दादेवी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    बाजुरामै बडिगाढ र धूपे खोलामा आएको बाढीमा बगेर ७५ धिनु लुहारको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टंकराज भट्टराईले जानकारी दिनुभयाे । बाजुराका भूपे, बड्डी गाढ खोलामा आएको बाढीले २० घर डुबानमा परेको जनाएको छ । क्षतिको यकिन विवरण आइसकेको छैन ।

    बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ५ मडका वीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका हुन् ।