शुक्लागण्डकीमा एक हप्ता लकडाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा एक हप्ता लकडाउन

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, बुधबार

    तनहुँ । समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । दुलेगौडास्थित एक पसलमा सवारी चालकको काम गर्दै आएका २९ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले बुधबार राति १० बजेदेखि भदौ १० गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

    समुदायस्तरमा कोरोना सङ्क्रमित भेटिएपछि जोखिम न्यूनीकरणका लागि लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो । नगरप्रमुख गुरुङका अनुसार यस अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु सञ्चालन गर्न पाइनेछ ।

    त्यस्तै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरी सञ्चालन गर्ने औषधि र औषधिजन्य पसल, दुग्धजन्य पसल, एम्बुलेन्स, शववाहन, औषधि, दुग्धपदार्थ, पानी, इन्धन बोकेका साधन, सरकारी नम्बर प्लेट र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरु सञ्चालन गर्न पाइनेछ ।

    यस अवधिमा अत्यावश्यक बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने सबै सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने सबै कोभिड नियन्त्रणका कार्य, सबै सार्वजनिक तथा निजी संस्थाबाट प्रदान गरिने सेवा, उद्योग, कलकारखाना र अन्य व्यवसाय, कुनै पनि प्रकारको भौतिक निर्माणसँग सम्बन्धित ढुवानी तथा निर्माण कार्य गर्न रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिकामा भदौ ७ र भानु नगरपालिकामा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । त्यस्तै आँबुखैरेनी गाउँपालिकाले पनि भदौ ७ गतेसम्म पालिकास्तरमा लकडाउनको निर्णय यसअगाडी नै गरिसकेको छ ।