परिवारका सदस्यबीच मात्रै तीज मनाउन सांसद श्रेष्ठकाे आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    परिवारका सदस्यबीच मात्रै तीज मनाउन सांसद श्रेष्ठकाे आग्रह

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले परिवारका सदस्यबीच मात्रै तीज मनाउन आग्रह गर्नुभएकाे छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै सांसद श्रेष्ठले काेभिड-१९ काे जाेखिमका कारण जमघट गर्ने अवस्था नरहेकाले घरमा सुरक्षित तरिकाले परिवारका सदस्यबीच र सामाजिक सञ्जाल मार्फत शुभकामना आदानप्रदान गरेर तीज मनाउन आग्रह गर्नुभएकाे हाे ।

    काेभिड-१९ काे सङ्क्रमण न्युनीकरणका लागि निषेधाज्ञा र लकडाउनले तीज पर्वकाे राैनकतामा कमी भएकाे महशुस गरिएपनि याे सबैकाे जीवन रक्षाका लागि आवश्यक भएकाे सांसद श्रेष्ठले बताउनुभयाे । उहाँले भन्नुभयाे, “हिन्दु नारीहरुले मनाउँदै आएको तीज पर्व पछिल्लो समय सम्पूर्ण नेपाली नारीहरुको साझा पर्वको रुपमा विकास हुँदै गईरहेको छ । यो पर्व जति धार्मिक रुपमा महत्वपूर्ण छ, त्यति नै सांस्कृतिक रुपमा पनि महत्वपूर्ण छ ।”

    सांसद श्रेष्ठले महिलाहरुको पीडा, वेदना र व्यथाको चित्रण मात्र नभई समाजमा भएका विकृति र विसङ्गतिलाई गीतको माध्यमबाट व्यक्त गर्ने र एक आपसमा शुभकामना आदान प्रदान गर्ने महत्वपूर्ण अवसरको रुपमा तीज पर्वलाई लिने गरिएकाे बताउनुभयाे । सांसद श्रेष्ठले भन्नुभयाे, “पौराणिक महत्व बोकेको यो तीज पर्वले सबैमा सुख, शान्ति र समृद्धी ल्याओस् र सुखी नेपाली समृद्ध नेपाल बनाउने महान लक्ष्यलाई यो पर्वले सहयोग पुगोस् ।”