बजारमा निषेधाज्ञा, गाउँमा छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बजारमा निषेधाज्ञा, गाउँमा छैन

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँका थप तीन स्थानीय तहमा बुधबार राति १२ बजेदेखि एक हप्तालाई निषेधाज्ञा जारी भएको छ । समुदायस्तरमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलन नदिन जिल्लाको भिमाद नगरपालिकाको सबै क्षेत्र, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २ देखि ९ सम्म र देवघाट गाउँपालिकाको वडा नम्बर ५ मा निषेधाज्ञा जारी भएको हो ।

    शुक्लागण्डकी नगरपालिकामा १२ वडा मध्ये ग्रामीण भेगका चार वडामा निषेधाज्ञा जारी गरिएन। जनघनत्व बढी भएका राजमार्गसँग जोडिएका वडामा सवारीसाधनको आउजाउ बढी हुँदा संक्रमणको जोखिम भएकाले निषेधाज्ञा गरिएको नगरप्रवक्ता खिमबहादुर कुमालले बताउनुभयाे ।

    देवघाटको पनि पाँच वडा मध्ये समुदायस्तरमा कोरोना देखिएको वडा नं ५ बाहेक अन्त खुला नै छ । निषेधाज्ञा गरिएको वडा देवघाट केन्द्र जहाँ बढी चहलपहल हुने स्थानमा पर्दछ । यही वडामा प्रसिद्ध धार्मिकस्थल देवघाट पर्दछ । भिमाद नगरपालिकामा भने समुदायस्तरमा संक्रमित भेटिएका छैन । तरपनि शुक्लागण्डकीका संक्रमित त्यहाँको बजार क्षेत्रमा आउजाउ गरेको पाइएकाले जोखिम न्यूनिकरणका सबै क्षेत्रमा निषेधाज्ञा गरिएको हो ।

    “समुदायस्तरमा संक्रमण फैलन नदिनलाई स्थानीय तहको माग अनुसार निषेधाज्ञा जारी भएको हो,” प्रमुख जिल्ला अधिकारी सागार आचार्यले भन्नुभयाे । गाउँमा जोखिम कम भएकाले निषेधाज्ञा नगरिएको उहाँको भनाई छ । “बजारको तुलनामा त्यतिसारो आवागमन हुँदैन गाउँघरमा । चहलपहल कम नै हुन्छ । त्यसैले गाउँमा निषेधाज्ञा गरेनाै,” उहाँले भन्नुभयाे । खुला रहेका स्थानमा जोखिम बढेर स्थानीय तहले सिफारिस गरेमा तुरुन्तै निषेधाज्ञा लागू गर्ने उहाँले बताउनुभयाे ।

    निषेधाज्ञाको पहिलो दिन बिहीबार शुक्लागण्डकीको दुलेगौँडा, खैरेनीटार बजार भिमादको भिमाद बजार र देवघाट क्षेत्र सुनसान रह्याे । यस्तै यसअघि नै निषेधाज्ञा जारी भएको व्यास नगरपालिका र भानु नगरपालिका पनि चकमन्न छ । पाँच स्थानीय तहमा गरिएको निषेधाज्ञाको प्रभाव अरु स्थानीय तहका शहरी क्षेत्रमा पनि देखिएको छ । बजार र राजमार्ग क्षेत्रमा सर्वसाधारण त्यतिसारो हिँडेका छैनन् । अत्यावश्यक बाहेकका सवारी साधन सडकमा हुँईकिएका छैनन्। राजमार्गमा गुडेका सवारीसाधनलाई कडाईको साथ चेकजाँच गरिएकाे तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले बताउनुभयाे । “राजमार्ग नै सुनसान छ । अत्यावश्क बाहेकका सवारी चलेका छैनन्,” उहाँले भन्नुभयाे । निषेधाज्ञा कार्यन्वयनमा जिल्लावासीको सहयोग मिलेको उहाँले बताउनुभयाे ।