यसपाली घन्किएनन् तीजका गीत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यसपाली घन्किएनन् तीजका गीत

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७७, शुक्रबार

    तनहुँ : हरितालिका तीज महिलाहरु नाच्ने, गाउँने र रमाउने पर्व । तीज यसपाली कोरोना कहरले घरमै सीमित भएको छ । तीजको अवसरमा दिदीबहिनी जमघट हुने अवसर मिलेन । तीजलाई लक्षित गर्दै कतै पनि मेला, महोत्सव र प्रीतयोगिताको आयोजना गरिएन् ।

    तनहुँका ६ स्थानीय तहमा त झन् निषेधाज्ञा जारी छ । तसर्थ यसपालीको तीज घरमै खुम्चियो । थरीथरीका तीजका भाका कतै घन्किएन । गत वर्षसम्म तीजको अवसरमा तनहुँका विभिन्न स्थानमा कार्यक्रमहरु हुन्थे । विभिन्न राजनीतिक दलका भातृ सङ्गठन, आमा समूह लगायतको आयोजनामा तीज गीत प्रतियोगिता आयोजना गरिन्थ्यो । रातो सारी लर्काएर आएका महिलाको समूहले थरीथरीका तीजका गीत गाएर सुनाउँथै । मेला हेर्न आएका छमछमी नाच्थे पनि ।

    तर यो वर्षको तीजमा महिलाहरुले सामूहिक रुपमा भेला भएर कार्यक्रम गर्न पाएनन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले घरमै परिवारका सदस्यबीच सुरक्षित रुपमा तीज मनाउन आग्रह गरेको छ ।

    खैरेनीटार महिला बहुउदेश्यीय सहकारी संस्थाले वर्षेनी आयोजना गर्दै आएको तीज गीत यसपाली भएन । यसपाली मानव स्वास्थ्यलाई नै चुनौती थपिएको बेलामा कार्यक्रम आयोजना गर्दा झनै जोखिम बढ्ने भएकाले कार्यक्रम नगरिएको संस्थाकी अध्यक्ष सुर्यकला ढकालले बताउनुभयो । “प्रतियोगितामा मौलिक गीतहरु प्रस्तुत हुन्थ्यो । टाढा टाढाका दिदीबहिनीहरु भेला भएर गीतमार्फत आफ्ना पीडा पोख्ने, देशमा घटेका घटनाको बारेमा सुनाउने गर्नुहुन्थ्यो । यसपाली त आफ्नो माईती मावली जाने अवस्था पनि रहेन,” उहॉले भन्नुभयो । ढकालका अनुसार रमझम बिनाको तीज मनाउनुपर्ने अवस्था पहिलो पटक आएको हो । ‘‘सबैभन्दा पहिला बाँच्नुपर्यो । अर्को वर्ष फेरि तीजका गीत घन्काउँदै नाच्दै गाउँदै मनाउँला,” उहॉले भन्नुभयो ।

    नेपाली काङ्ग्रेसकी नेतृ एवं गण्डकी प्रदेश सभाका सदस्य सरिता गुरुङले सामाजिक सञ्जालमा गत वर्षका तीज कार्यक्रमका तस्वीर पोष्ट गर्दै शुभकामना दिनुभयो । गुरुङले कोरोनाका कारण यस वर्षको तीज खल्लो भएको बताउनुभयो । कोरोनाको जोखिम दिनदिनै बढ्दै छ, जिल्लाका अधिकांश स्थानमा निषेधाज्ञा लागू गरिएको छ, यो वर्षको तीज यस्तै भयो, घरमै बसेर सुरक्षित रुपमा तीज मनाउन आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।

    “विगतका वर्षहरुमा धेरै ठाउँमा प्रमुख अतिथि भएर तीज मनाउन गइन्थ्यो, अहिले पहिलो पटक तीजमा घर बस्दा नयाँ अनुभूति भएको छ,” प्रदेश सभा सदस्य गुरुङले भन्नुभयो, “कोरोनाको जोखिम कायम रहेकाले बाहिर हिँड्न भएन, सामाजिक सञ्जालमार्फत् नै दिदीबहिनीलाई शुभकामना दिएको छु ।”

    नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्ती अघिल्ला वर्षहरुमा विभिन्न कार्यक्रममा पुग्ने गर्नुभएकामा यो पटक घरमै बसेर तीज मनाउँदै हुनुहुन्छ । कोरोना कहरका कारण पहिलो पटक तीज मनाउन नपाएको घर्तीले बताउनुभयो । “विगतका वर्षहरुमा विभिन्न सङ्घसङ्गठनले आयोजना गरेको तीज कार्यक्रममा सहभागी हुन्थे, यो पटक अवस्था त्यस्तो रहेन”, उहाँले भन्नुभयो ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको तीज घरमै बसेर मनाउन आग्रह गरेको थियो । कोरोना जोखिम कायम रहेकाले जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका वडा नं २ देखि ९, देवघाट गाउँपालिका वडा नं ५ मा निषेधाज्ञा जारी गरेको छ भने बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिकाले पालिकास्तरमा लकडाउन घोषणा गरेको छ ।

    जिल्लाका विभिन्न स्थानमा आयोजना हुने तीज गीत प्रतियोगितामा उपाधी जित्ने दाउमा रहेका प्रतियोगी समूहले मौलिकतालाई जोड दिएर तीजका गीत गाउने गरेका थिए ।