बढ्दैछ उद्योगमा लगानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बढ्दैछ उद्योगमा लगानी

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शनिबार

    तनहुँ : मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको हो । तीन तहको स्थायी सरकार बनेपछि मुलुकमा लगानीको वातावरण सिर्जना भएको हो ।

    तनहुँ जिल्लामा दर्ता भएका उद्योगमा करीब रु दुई अर्ब लगानी भएको छ । घरेलु तथा साना उद्योग विकास समिति तनहुँमा दर्ता भएका उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको हो । तीमध्ये उद्योगतर्फ रु ७० करोड २८ लाख ९६ हजार सात सय ५९ तथा वाणिज्यतर्फ रु एक अर्ब १९ करोड २३ लाख ६३ हजार नौ सय लगानी भएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उत्पादनमूलक उद्योगतर्फ रु ९ करोड १६ लाख, कृषि तथा वनजन्यतर्फ रु २७ करोड ७७ लाख ७३ हजार ८ सय ५८, पर्यटन उद्योगतर्फ रु चार करोड ३४ लाख, सेवामूलकतर्फ रु २० करोड ८१ लाख २२ हजार ९ सय एक र सूचना प्रशारण तथा सञ्चार प्रविधितर्फ रु आठ करोड २० लाख लगानी भएको छ । जिल्लामा विगत एक वर्षको अवधिमा तीन हजार पाँच सय १५ नयाँ उद्योग थपिएको छ ।

    आर्थिक वर्ष २०७६/७७ मा उद्योगतर्फ एक हजार सात सय एक र वाणिज्यतर्फ एक हजार आठ सय १४ उद्योग दर्ता भएको समितिले जनाएको छ । नयाँ उद्योगमध्ये उत्पादनमूलकतर्फ एक सय ६८, कृषि तथा वनजन्यतर्फ छ सय, पर्यटनतर्फ चार सय ७१, सेवामूलकतर्फ तीन सय ४२, सूचना प्रशारण तथा प्रविधितर्फ एक सय २० रहेको कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो ।

    जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषि सम्बन्धी उद्योग दर्तामा वृद्धि भएको प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यमी बन्ने युवाको सङ्ख्या वृद्धि भएपछि कृषि तथा वनजन्य उद्योग दर्ता बढेको हो । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

    गत आर्थिक वर्ष २०७५/०७६ मा उद्योगतर्फ एक हजार एक सय ३५ उद्योग दर्ता भएको थियो । गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा पाँच सय ६६ उद्योग बढी दर्ता भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्पादनमूलकतर्फ १ सय ४३, कृषि तथा वनजन्य तर्फ ४ सय ९९, सेवामूलकतर्फ २ सय ९५, पर्यटनमूलकतर्फ १ सय ९२, निर्माणतर्फ ६ उद्योग दर्ता भएका थिए ।

    ८० लाख राजश्व सङ्कलन

    उद्योग नवीकरणबाट कार्यालयले उक्त अवधिमा रु ८० लाख ११ हजार ६ सय १ राजश्व सङ्कलन गरेका छ । तीमध्ये उद्योगतर्फ रु २६ लाख दुई हजार तीन सय ४० र वाणिज्यतर्फ रु ५४ लाख नौ हजार दुई सय ७५ रहेको छ । रु एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार एक सय, रु तीन लाखसम्म पुँजी भएको उद्योगले रु तीन हजार एक सय, रु पाँच लाखसम्म पुँजी भएको उद्योगले रु छ हजार एक सय, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार एक सय, रु एक करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार एक सय, रु ५ करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार एक सय तथा रु पाँच करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार एक सय १० दर्ता शुल्क बुझाउनुर्पे प्रावधान छ ।

    फाइल तस्वीर