अनलाइन कक्षाको लागि कसको डेटा प्याक सस्तो, नेपाल टेलिकम की एनसेल ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुचना प्रविधि

    अनलाइन कक्षाको लागि कसको डेटा प्याक सस्तो, नेपाल टेलिकम की एनसेल ?

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, शनिबार

    काठमाडाै : कोरोना महामारीको कारण विद्यालयहरु खुल्न सकेका छेनन् । जस कारण हजारौं विद्यार्थीहरु घरमै बस्न बाध्य छन् । विभिन्न विद्यालयले अनलाइन कक्षा पनि सञ्चालन गरिरहेका छन् ।

    यो महामारीको समयमा अनलाइन कक्षा पढ्न सहज होस् भन्ने उदेश्यका साथ नेपाल टेलिकम र एनसेलले अनलाइन कक्षाको लागि विभिन्न डेटा प्याक उपलब्ध गराएका छन् । आज हामी अनलाइन कक्षाको लागि टेलिकम र एनसेलले उपलब्ध गराएका डेटा प्याकको बारेमा जानकारी दिदैछौं ।

    कस्तो छ नेपाल टेलिकमको एजुकेशन डेटा प्याक ? 

    सरकारी स्वामित्वको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अनलाइन कक्षाको लागि दुईवटा प्याक ल्याएको छ । जसमा ईशिक्षा प्याकेज र ह्याप्पी लर्निङ प्याकेज रहेका छन् । 

    ईशिक्षा प्याकेजमा टेलिकमले २६० रुपैयाँमा ६ जीबी डेटा प्रदान गर्नेछ । जसमा ३ जीबी डेटा बिहान ५ बजेदेखि १० बजेसम्म प्रयोग गर्न सकिने छ । बाँकी ३ जीबी डेटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । यो डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने छ । 

    नेपाल टेलिकमले ईशिक्षा प्याकेज अन्तरगत ५०० रुपैयाँमा १५ जीबी डेटा प्रदान गर्नेछ । जुन २८ दिनको लागि मान्य हुनेछ । कूल १५ जीबी डेटा मध्ये ६ जीबी डेटा बिहान ५ बजेदेखि १० बजेसम्म प्रयोग गर्न सकिने भने बाँकी ९ जीबी डेटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । 

    ईशिक्षा प्याकेज लिनको लागि विश्वविद्यालय तथा विद्यालयले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरु सूचीसहित edupack@ntc.net.np ईमेलमा पठाउनु पर्नेछ । सिफारिश प्राप्त भएका नम्बरहरुलाई *1441# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ । 

    यसैगरी टेलिकमले अनलाइन कक्षाको लागि सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक पनि उपलब्ध गराएको छ । सो प्याकेज अन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डेटा उपलब्ध हुनेछ ।

    २४ जीबी डेटामध्ये २० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स  र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्न सकिने छ । बाँकी ४ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

    उक्त प्याक अन्तरगत ३५ जीबी डेटामध्ये ३० जीबी डेटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्न सकिने छ । भने बाँकी ५ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

    प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना edupack@ntc.net.np मा पठाउनु पर्नेछ ।  

    सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ ।

    कस्तो छ एनसेलको एजुकेशन डेटा प्याक ? 

    नीजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सस्तो मूल्यमा अनलाइन कक्षाको लागि डेटा उपलब्ध गराउन हिसान, प्याब्सन र एन प्याब्सनसँग सम्झौता गरेको छ । जसमा एनसेलले भ्वाइस, डाटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा उपलब्ध गराएको छ । 

    हिसानसँग भएको सम्झौता अन्तर्गत विद्यार्थीले मासिक २५० (करबाहेक) रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गूगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रिजी/फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउने छन् ।

    यसैगरी मासिक ३५० (करबाहेक) रुपैयाँको योजना पनि उपलब्ध  रहेको छ । यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो सेवा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ।

    त्यस्तै प्याब्सन र एनप्याब्सनसँग भएको सम्झौता भएको अनुसार एनसेलले विद्यार्थीलाई मासिक २५० (करबाहेक) रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गूगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रिजी/फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्रदान गर्ने छ ।

    यो सहकार्य अनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक तथा शिक्षिकाले यो योजनाबाट फाइदा लिन सक्नेछन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिने कम्पनीले जनाएको छ ।