तीन महिनादेखि थन्कियाे बन्दीपुर अस्पतालकाे एक्सरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन महिनादेखि थन्कियाे बन्दीपुर अस्पतालकाे एक्सरे

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँकाे बन्दीपुर अस्पतालको एक्सरे मेसिन तीन महिनादेखि बिग्रिदा सर्वसाधारण मर्कामा परेका छन् । अस्पतालको एक्सरे मेसिन बिग्रिदा सर्वसाधारणले निजी अस्पताल तथा क्लिनिकमा सेवा लिनुपर्ने बाध्यता छ ।

    सरकारी अस्पतालको एक्सरे मेसिन बिग्रिएपछि सर्वसाधारणलाई समस्या भएको स्थानीयवासी बसन्त पौडेलले जानकारी दिनुभयो । “सरकारी अस्पतालमा कर्म खर्चमा सेवा लिन पाइनेमा तीन महिनादेखि मेसिन बिग्रिदा सर्वसाधारण डुम्रे बजार पुगेर महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य छन्,” पौडेलले भन्नुभयो । पौडेलका अनुसार यस बारेमा गाउँपालिकालाई पनि जानकारी गराइएपनि पहल भएको छैन ।

    बन्दीपुर अस्पतालका मेसु डा. कुलदिप खत्रीले कोभिड–१९ का कारण भएको लकडाउनले गर्दा मेसिन बनाउन नसकिएको जानकारी दिनुभयो । “मेसिन बनाउन भरतपुर लगिएको थियो, सामान पाइएको छैन, लकडाउनका कारण समस्या भयो,” उहाँले भन्नुभयो । उहाँका अनुसार यस अगाडी दैनिक तीन चार जना सर्वसाधारण एक्सरे सेवाका लागि आउने गरेका थिए ।

    बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले मेसिन बनाउनका लागि गाउँपालिकाले पनि पहल गरेपनि सम्भव नभएको जानकारी दिनुभयो । “लकडाउनले गर्दा मेसिन बनाउने प्राविधिक पाइएन भन्ने सुनेको थिएँ,” उहाँले भन्नुभयो ।

    अस्पतालमा औषधि समेत अभाव हुन थालेको छ । औषधि अभावकै कारण अस्पतालले बिरामीलाई म्याद सकिन लागेको औषधि वितरण गरेको भेटिएको छ । अस्पतालमा परीक्षणपछि फार्मेसीबाट औषधि खरिद गर्नुभएकी स्थानीय एक महिलालाई फार्मेसीबाट १५ दिनको मात्रै म्याद भएको औषधि दिएको हो । दुई वर्ष पहिला उत्पादन भएको उक्त औषधिको म्याद अगष्टमा सकिदैछ ।

    यस विषयमा अस्पतालले भने कुनै कुनै औषधि भुलवश त्यस्तो परेको हुन सक्ने बताएको छ । अस्पतालका प्रमुख खत्रीले औषधि खरिद गर्नका लागि नयाँ खरिद प्रकृया अगाडी नबढेकाले अस्पतालमा केही औषधिहरु अभाव हुन थालेको बताउनुभयो । “अस्पतालमा औषधि अभाव रहेकाले उहाँसँग सल्लाह गरेर नै १९ दिन बाँकी म्याद रहेको औषधि दिइएको हो, उहाँलाई उक्त औषधि १५ दिन प्रयोग गर्न भनिएको थियो,” उहाँले भन्नुभयो ।

    उहाँका अनुसार नयाँ आर्थिक शुरु भएपछि औषधि खरिद प्रकृया शुरु गर्नुपर्ने भएपनि भदौ लागिसक्दा समेत गाउँपालिकाको तर्फबाट खरिद प्रकृया शुरु हुन सकेको छैन । “बीमाको औषधि पनि अभाव छ, खरिद प्रकृया अगाडी बढ्न लागेको छ भन्ने जानकारी पाएको छु,” उहाँले भन्नुभयो ।

    बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले भने गाउँपालिकाले छिट्टै नै औषधि खरिद प्रकृया शुरु गर्न लागेको जानकारी दिनुभयो । साउन महिनामा नै खरिद प्रकृया शुरु गर्नुपर्ने भएपनि कोभिड–१९ का कारण उक्त काम गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

    “कोभिड–१९ बाट बन्दीपुर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुनुभयो, त्यसले पनि अस्पतालको सेवा अस्तव्यस्त हुन पुग्यो, तर कोभिडलाई देखाएर उम्कने अवस्था भने होइन,” उहाँले भन्नुभयो, “केही दिनभित्रै खरिद प्रकृया शुरु हुँदैछ ।”

    बन्दीपुर अस्पतालमा २८ जनाको दरवन्दी भएपछि स्थायी दरवन्दीमा १५ जना मात्रै कार्यरत छन् । बाँकी कर्मचारी अस्पताल व्यवस्थापन समिति मार्फत् करारमा राखिएको छ ।