तनहुँ : तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित एक बैङ्कमा कार्यरत महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा आइतबार थपिएका २२ जना कोरोना सङ्क्रमितमध्ये उनी पनि एक हुन् ।
गरिमा विकास बैङ्कमा कार्यरत २५ वर्षीया महिलालाई कोरोना पुष्टि भएपछि बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुरस्थित बैङ्कमा काम गर्ने उनलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौ,” थापाले भन्नुभयो, “सम्बन्धित बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौ ।” यस विषयमा छलफल गर्न सोमबार आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताउनुभयो ।
“बैङ्कमा कार्यरत अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गर्ने तयारी गरेका छौ, रिपोर्ट नआइन्जेल बैङ्क बन्द गर्न भनेका छौ,” थापाले भन्नुभयो ।
यसैसँग सम्बन्धित समाचारमा प्राविधिक त्रुटी भएकाले क्षमाप्रार्थी सहित सच्याइएको छ । – सम्पादक