काठमाडौ: प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले निश्चित कैद अवधि र उमेर पार गरेका कैदीबन्दीलाई रिहाइको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले कोभिड–१९ संक्रमणबाट बचाउनका लागि कैदीबन्दीलाई रिहाइको व्यवस्था मिलाउन भनेको हो । समितिको आइतबारको भर्चुअल बैठकले दिएको निर्देशनमा छ, ‘कारागारको दीर्घकालीन सुधार तथा व्यवस्थापनका लागि फौजदारी कसुर ऐन २०७४ मा भएका व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्ने, निश्चित उमेर समूह र अवधि पार गरेका कैदीबन्दीलाई तत्काल रिहा गर्न आवश्यक व्यवस्था गर्ने ।’ समिति सभापति शशी श्रेष्ठले कारागारहरूमा संक्रमण फैलिँदै गएकाले आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।