तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ शैय्याको आइसोलेशन तयार गर्ने भएको छ । आफ्नै पालिकाभित्र आइसोलेशन कक्ष नहुँदा कोरोना सङ्क्रमितलाई अन्यत्र लैजानुपर्ने बाध्यता भएपछि आँबुखैरेनी गाउँपालिका–३ मा आइसोलेशन कक्ष बनाउन लागेको हो ।
गाउँपालिकाको संयोजनमा बुधबार शिव मन्दिर संरक्षण समिति, मनकामना चोक टोल सुधार समिति र स्थानीयवासीको संयुक्त बैठकले शिवालय मन्दिर नजिक रहेको भवनमा १२ शैय्याको आइसोलेशन कक्ष तयार गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिकाका स्थानीयवासीहरुलाई कोभिड–१९ सङ्क्रमण देखिएतापनि अन्यत्र स्थान लैजानुपर्ने बाध्यता रहेकामा आफ्नै ठाउँमा आइसोलेशन कक्ष हुँदा सहज हुने पोख्रेलले बताउनुभयो । “आफ्नै ठाउँमा राख्दा सङ्क्रमितलाई पनि पारिवारिक वातावरण महशुस हुन्छ,” उहाँले भन्नुभयो, “स्थानीय स्तरमै आइसोलेशन कक्ष हुँदा सङ्क्रमितलाई लैजान पनि सजिलो हुन्छ ।”
प्रमुख प्रशासकीय अधिकृत पोख्रेलका अनुसार बिहीबार बेलुकासम्म आइसोलेशन कक्ष तयार हुनेछ । आइसोलेशन कक्षमा सिसि क्यामरा र इन्टरनेट पनि जडान गरिनेछ । “शैय्या, सिसि क्यामरा र इन्टरनेट सबै व्यवस्थापन भइसक्यो, भोलि बेलुकासम्म सम्पूर्ण तयारी पूरा हुन्छ,” उहाँले भन्नुभयो ।
आँबुखैरेनी गाउँपालिकामा हालसम्म दश जनामा कोरोना सङ्क्रमण भएको छ । त्यसमध्ये आठ जना गाउँपालिकाका स्थायी बासिन्दा हुन् भने दुई जना आँबुखैरेनीमा कार्यरत रहेका थिए । दश जनामध्ये ९ जना उपचारपश्चात् निको भइसकेका छन् ।