बागलुङ बाढी : शव भेटिएका चार जनाको सनाखत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बागलुङ बाढी : शव भेटिएका चार जनाको सनाखत

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    बागलुङ : बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

    उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताउनुभयो । रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो ।

    पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।