तनहुँ : कोरोना सङ्क्रमण भएर आइसोलेशनमा रहेका एक मिर्गौला पीडितलाई डायलासिस केन्द्रसम्म पु¥याउन व्यास नगरपालिकाले एम्बुलेन्सको व्यवस्था मिलाएको छ । व्यास नगरपालिका–४ का ३६ वर्षीय पुरुषलाई डायलासिस गराउन लैजानका लागि नगरपालिकाले एम्बुलेन्सको व्यवस्था मिलाएको हो ।
ती पुरुषको बुधबार राति डायलासिस गरिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले डायलासिस गराउने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलाई पिपिई समेत उपलब्ध गराइएको जानकारी दिनुभयो । ती सङ्क्रमितलाई डायलासिस केन्द्रको छुट्टै कक्षमा राखेर डायलासिस सेवा प्रदान गरिएको छ ।
“सङ्क्रमितको डायलासिस गर्ने दिन नगरपालिकाले व्यवस्था गरेको एम्बुलेन्सले आइसोलेशनबाट डायलासिस केन्द्र लैजाने र डायलासिस गरेपछि पुनः आइसोलेशन कक्षमा फर्काउने व्यवस्था मिलाइएको छ,” सोतीले भन्नुभयो ।
दमौली अस्पतालमा रहेको डायलासिस केन्द्रमा ती सङ्क्रमितलाई सङ्क्रमणमुक्त नभएसम्म छुट्टै कोठामा राखेर डायलासिस सेवा दिइने केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । “डायलासिसका सबै बिरामी गइसकेपछि उहाँलाई मात्रै एक्लै सेवा दिएका छौ,” पण्डितले भन्नुभयो । गत सोमबार पोखरामा परीक्षण गर्दा ती पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।