तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ निवासी ७६ वर्षीया महिलाको भदौ २४ गते काठमाडौस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार जानकारी गराएको छ ।
ती महिलामा मुटु सम्बन्धी समस्या रहेको थियो । भदौ २० गते अस्पतालमा भर्ना हुनुभएकी उहाँलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि चितवन पुगेपनि स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई काठमाडौ लगिएको स्रोतले जानकारी दिएको छ ।
योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरामा, व्यास नगरपालिका–२ की २० वर्षीया युवतीको काठमाडौमा र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौमा निधन भएको थियो ।
फाइल तस्वीर