“हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔं”
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    “हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔं”

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा फुड बैङ्क सञ्चालनमा ल्याइएको छ । “हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔं” भन्ने मूल नाराका साथ युनिटी ग्रुपले मङ्गलबारदेखि फुड बैङ्क सञ्चालनमा ल्याएको हो ।

    सामाजिक काम गर्नका लागि युवाहरुले गठन गरेको उक्त गु्रपले सञ्चालनमा ल्याएको फुड बैङ्कबाट वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति लगायत अति विपन्नलाई सहयोग गरिने गु्रपका सदस्य राजेश कार्कीले जानकारी दिनुभयो । उक्त गु्रपमा हाल बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका २२ जना युवाहरु आबद्ध छन् ।

    कार्कीका अनुसार डुम्रेमा चार दिनसम्म फुड बैङ्क सञ्चालन गरिने र अवस्था हेरेर समय थप हुन सक्नेछन् । “कोभिड–१९ को सङ्कटले मारमा परेका वर्गलाई खाद्यान्न सहयोग गर्ने उद्देश्य सहित फुड बैङ्क सञ्चालनमा ल्याएका हौ,” उहाँले भन्नुभयो, “पहिलो दिन करीब ४० जनाले खाद्यान्न लगिसक्नुभएको छ ।”

    केही समय अगाडी नै फुड बैङ्क सञ्चालनमा ल्याउने तयारी गरिएपनि बन्दीपुरमा गरिएको लकडाउनका कारण केही समय ढिलाई भएको कार्कीले जानकारी दिनुभयो । फुड बैङ्क मार्फत् प्रति परिवारलाई चार किलो चामल, एक किलो दाल, एक पोका नून र सोयाबिन प्रदान गरिएको छ ।

    गु्रपमा आबद्ध सदस्यहरुबाटै रकम सङ्कलन गरी फुड बैङ्क सञ्चालनमा ल्याइएको र सहयोग गर्न चाहनेहरुलाई अनुरोध गरिएको छ । “हुनेले दिने र नहुनेले लिने अभियान हो, विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले यो अभियानलाई सहयोग गर्न सक्नेछन्,” कार्कीले भन्नुभयो ।

    फुड बैङ्कको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सङ्कटको घडीमा युवाहरुले सञ्चालन गरेको अभियान सकारात्मक रहेको बताउनुभयो ।