तनहुँ : तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ । निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरेको हो ।
क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले विश्वका सारा हिन्दुहरुले शालिग्रामको दर्शन र अवलोकन गर्न सकुन् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाएर राख्न लागिएको जानकारी दिनुभयो । कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दु धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिले पहल शुरु गरेको पौडेलले बताउनुभयो ।
“वेदशास्त्रमा पनि गण्डकी र शालिग्रामको विशेष महिमा रहेको बताइन्छ, दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा हुन्,” पौडेलले भन्नुभयो, “कतिपयले शालिग्रामको व्यापार व्यवसाय गरेर बेच्न पनि लागे, हामीले यसको व्यापार व्यवसाय गर्नुहुन्न भन्नका लागि संरक्षणको अभियान थालनी गरेका हौ ।”
शालिग्राम संरक्षणले धार्मिक पर्यटन प्रबद्र्धन हुने र शालिग्राम दर्शन गर्न देवघाटधाम जानुपर्छ भन्ने सन्देश दिन लागिएको पौडेलले बताउनुभयो । पौडेलका अनुसार सङ्ग्रहालय निर्माणका लागि एक वर्षभित्रै काम शुरु गरिने र अहिले डिपीआर तयार गर्न लागिएको छ ।
पर्यटन विभागबाट देवघाट क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा रु ५० करोड बराबरको योजना परेको र त्यसका लागि केही समयभित्र प्राविधिकहरु आउने तयारी गरेका छन् । देवघाटमा अवस्थित मणिमुकुन्देश्वरी मन्दिर क्षेत्रमा रहेको पार्क वरिपरि नै सिसमहलको पनि डिपीआर अध्ययन गरिने पौडेलले बताउनुभयो । “सङ्ग्रहालय बनाउने कि मन्दिरको रुपमा लैजाने भन्ने विषयमा छलफलकै क्रममा छौ, पूजा गर्न मिल्ने र दर्शन गर्न मिल्ने हिसाबले लैजानुपर्छ भन्ने पनि जोड छ,” पौडेलले भन्नुभयो ।
मुक्तिनाथदेखि बगेर आउने कालिगण्डकी देवघाटमा आएर त्रिशुली नदीसँग मिसिन्छ । यहाँ शालिग्राम प्रशस्त मात्रामा पाइने गरेको बताइन्छ । यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेको धार्मिक अगुवाहरुले बताएका छन् । प. कमलाकान्त सुवेदीले शालिग्रामको नित्य पूजा गर्नाले करोडौ यज्ञको फल मिल्ने उल्लेख गर्नुभएको छ । “भिन्न भिन्न चक्र र आकृतिक अनुसार भगवान्का भिन्न भिन्न अवतार र स्वरुप शालिग्राममा मान्न सकिन्छ भनी पुराणहरुमा लेखिएको छ,” क्षेत्र विकास समितिले प्रकाशित गरेको देवघाट दर्पणमा सुवेदीले लेख्नुभएको छ ।
सुवेदीका अनुसार प्रायः सबै हिन्दु धर्मावलम्बीहरुमा पाएसम्म शालिग्राम घरमा राख्ने र नित्य पूजा गर्ने प्रचलन छ । स्मृति र पुराण आदि धर्मग्रन्थहरुमा यसको ठूलो महत्व वर्णन गरिएको छ । सुवेदीले पुस्तकमा उल्लेख गर्नुभएको छ, “वाराह पुराण अनुसार एक पटक मुक्ति क्षेत्रमा शालङ्कयान मुनिले भगवान्को ठूलो तपस्या गर्नुभयो । मुनिको तपस्या र स्तुतिबाट प्रशन्न भगवान्ले दर्शन दिई त्यस क्षेत्रलाई शालिग्राम क्षेत्रको रुपमा रहने र आफू पनि त्यही नै रहने समेत बचन दिनुभयो ।”
पुराणहरुमा उल्लेख गरिए बमोजिम शालिग्रामको पूजा गर्दा मन्त्र उपचार सामग्री कम भए पनि पूजा अपूर्ण नहुने, शालिग्राममा आकृतिक अनुसार जुनसुकै देवताको पूजा गर्न सकिने, शालिग्रामका समीपमा श्राद्ध गर्दा पितृहरुलाई अक्षय तृतीय मिल्ने, शालिग्रामको जलसँग छोइएपछि खान नमिल्ने अरु देवताको नैवेद पनि खान योग्य हुने उल्लेख गरिएको छ ।