तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । झोलुङ्गे पुल नभएका खोला तथा लामो समय हिँडेर वारपार गर्नुपर्ने ठाउँहरुमा गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले झोलुङ्गे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि दमौलीस्थित गैरसरकारी संस्था समन्वय समितिसँग सम्झौता गरिएको जानकारी दिनुभयो । “गाउँपालिकाका विभिन्न वडामा झोलुङ्गे पुल निर्माणका लागि डिपीआर तयार गर्न सम्झौता भएको छ, अध्ययन पछि कहाँ कहाँ पुल निर्माण गर्न उपयुक्त हुन्छ, त्यही ठाउँमा काम तत्कालै अगाडी बढाउँछौ,” थापाले भन्नुभयो ।
उहाँका अनुसार बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–४ जोड्ने चुँदीखोला, बन्दीपुर गाउँपालिका–१ कटुवाको घुम्तीदेखि सोही ठाउँ जोड्ने नाहाला खोला, बन्दीपुर गाउँपालिका–३ र सोही वडाको शेराटार जोड्ने खुदीखोला, बन्दीपुर गाउँपालिका–२ र ६ जोड्ने साम्दीखोला र बन्दीपुर गाउँपालिका–२ र ४ जोड्ने पाहरपानी खोलामाथि झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।
उहाँका अनुसार ती झोलुङ्गे पुल निर्माण पछि यहाँका पाँच हजार भन्दा बढी सर्वसाधारण लाभान्वित हुनेछन् । “अहिले ती ठाउँहरुमा पुल नहुँदा आधा घण्टा भन्दा बढी हिँडेर वारपार गर्नुपर्ने अवस्था छ,” थापाले भन्नुभयो, “सर्वसाधारणलाई सहज बनाउनका लागि पुल निर्माण गर्न लागेका हौ ।” उहाँका अनुसार पुल निर्माणमा बन्दीपुर गाउँपालिकाले दश प्रतिशत लगानी गर्नेछ भने बाँकी रकम सङ्घीय सरकारले बेहोर्नेछ । सम्भाव्यता अध्ययन पछि मात्रै पुलको लागत थाहा हुने थापाको भनाई छ ।
गैरसरकारी संस्था समन्वय समिति (एनजिओ नेटवर्क) दमौलीका अध्यक्ष प्रतापसिंह गुरुङले सम्भाव्यता अध्ययनका लागि गाउँपालिकासँग सम्झौता भइसकेकाले तत्कालै काम शुरु गरिने जानकारी दिनुभयो । “अध्ययन पछि गाउँपालिकालाई प्रतिवेदन बुझाउँछौ, त्यस ठाउँमा पुल निर्माण गर्न सकिन्छ की सकिदैन भन्ने विषयमा अध्ययनपछि मात्रै थाहा हुन्छ,” गुरुङले भन्नुभयो ।
एनजिओ नेटवर्कले जिल्लाका अधिकांश ठाउँहरुमा झोलुङ्गे पुल निर्माणको काम गर्दै आइरहेको छ । नेटवर्कले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न ठाउँमा ९ वटा पुल निर्माण गरेको शुरु गरेको थियो । जुन हाल निर्माणाधीन अवस्थामा छ । बन्दाबन्दीका कारण ती झोलुङ्गे पुल निर्माण गर्न नसकिएको गुरुङले बताउनुभयो ।