मृत्यु संस्कारमा विपन्नलाई वडा कार्यालयको साथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    मृत्यु संस्कारमा विपन्नलाई वडा कार्यालयको साथ

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ वडा कार्यालयले विपन्न वडाबासीको मृत्यु संस्कारमा साथ दिन थालेको छ । विपन्नलाई राहत कार्यक्रम सञ्चालन गरी वडाले असाध्यै विपन्न परिवारलाई किरिया खर्चमा खाद्यान्नका सामग्री राहत दिन थालेको हो ।

    लिलाचोकका मिनबहादुर भुजेल भदौ २६ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो । ३० वर्षीय वर्षीय भुजेल गत आइतबार पोखरा महानगरपालिका–३३ चवादीस्थित धानखेतमा मृत अवस्थामा फेला पर्नुभयो । अरुको घरमा काम गर्दै जीवन निर्वाह गर्ने मिनबहादुरको मृत्युपछि हिन्दु धर्म संस्कार अनुसार उहाँका दाजु कुलबहादुरले काजकिरिया गर्दै हुनुहुन्छ । कुलबहादुरको आर्थिक अवस्था पनि दयनीय नै छ । आफन्त र छरछिमेकको आर्थिक सहयोगमा काजकियरा हुँदैछ ।

    १३ दिने मृत्यु संस्कार उम्काउन पनि अति विपन्न परिवारलाई धौधौ भएपछि वडा कार्यालयले राहतमा खाद्यान्नका सामग्री दिएको छ ।चामल, आटा, खाने तेल, चिनी, चियापत्ती, नून र चना कार्यालयले सहयोग गरेको छ ।

    वडा कार्यालयले मृत्यु संस्कारमा सघाएको यो पहिलो पटक भने होइन । वडाको बजेटमा ‘विपन्नलाई राहात कार्यक्रम’ सञ्चालन गर्न तीन लाख रुपैयाँ बजेट नै छुट्याइएको छ । विपन्न परिवारका सदस्यको मृत्यु भएको बखत शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङसँगै अन्य जनप्रतिनिधि राहत लिएर पुग्ने गर्नुभएको छ ।

    अति नै विपन्न परिवारलाई किरिया खर्च स्वरुप पाँच हजार रुपैयाँसम्मको खाद्यान्न सामग्री दिने गरेको गुरुङले जानकारी दिनुभयो । ‘मृत्यु संस्कार अनुसार आवश्यक सामग्री उपलब्ध गराउँछौ,” उहाँले भन्नुभयो, “असाध्यै विपन्न परिवारलाई सघाउन कार्यक्रमको अवधारणा ल्याएको ल्याएका हौ । जनताको दुखमा जनप्रतिनिधि र स्थानीय सरकार सँगै हुनुपर्छ ।”

    यो कार्यक्रमबाट विपन्न पाँच परिवारलाई किरियाखर्चमा सघाएको छ । यस्तै ‘विपन्नलाई राहत कार्यक्रम’ बाट असाध्यै विपन्न परिवारलाई घर निर्माणमा पनि वडाले सघाउँदै आएको छ । सुरक्षित बसोबासका लागि घर निर्माण गर्दा आवश्यक जस्तापाता दिने वडाध्यक्ष गुरुङले बताउनुभयो । हालसम्म दुई घर निर्माणमा जस्ता दिइएको छ ।