तनहुँ : तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले एक बेन्च र अर्काे बेन्चको दुरी एक मिटरको राखेर पढाई शुरु गराउने तयारी गरेकाे छ । सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सिकाई सहजीकरण सम्बन्धमा निर्देशन दिँदै गाउँपालिकाले भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरी अध्यापन शुरु गराउन भनेकाे छ ।
कोभिड–१९ को कारण अवरुद्ध विद्यार्थी सिकाई प्रक्रिया शिक्षा मन्त्रालयको सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरुसँगको बैठक तथा कार्यपालिकाको निर्णय अनुसार सुचारु गर्न लागिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाेख्रेलले जानकारी दिनुभयाे ।
गाउँपालिकाले विद्यालयमा एक बेन्च र अर्काे बेन्चको दूरी कम्तीमा एक मिटरको हुनुपर्ने र एउटा बेन्चमा दुई जना मात्रै विद्यार्थी राख्न निर्देशन दिएकाे पाेख्रेलले बताउनुभयाे । त्यस्तै ५० देखि एक सय जना विद्यार्थी भएका विद्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने, एक सयदेखि दुई सय वा सो भन्दा माथि विद्यार्थी भएका विद्यालयले दिन बिराएर भएपनि आलोपालो रुपमा सञ्चालन गर्न सक्ने गाउँपालिकाले जनाएकाे छ ।
बस सञ्चालन गरेका विद्यालयले सिटको एक लहरमा एक जना मात्रै विद्यार्थी राखी ल्याउनुपर्ने र बसको ढोकामा स्यानीटाइजरको व्यवस्था गर्नु पर्ने, विद्यालय प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने तथा ज्वरो आएका तथा जुनसुकै बिरामीका लक्षण भएका विद्यार्थीलाई अभिभावकले नै विद्यालय पठाउन नहुने गाउँपालिकाले जनाएकाे छ ।
सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु अनिवार्य विद्यालयमा हाजिर हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।