म्याग्देमा कक्षा सञ्चालनमा जोर बिजोर प्रणाली लागु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा कक्षा सञ्चालनमा जोर बिजोर प्रणाली लागु

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु गर्ने भएको छ । एक सयदेखि दुई सय वा सो भन्दा बढी विद्यार्थी भएका विद्यालयमा जोर बिजोर प्रणाली मार्फत् पठनपाठन शुरु गराउन गाउँपालिकाले सबै विद्यालयलाई पत्राचार गरेको छ ।

    धेरै विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई दिन बिराएर जोर दिन जोर कक्षा र बिजोर दिन बिजोर कक्षा सञ्चालन गर्न निर्देशन गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताउनुभयो । उहॉका अनुसार एक सय जनासम्म विद्यार्थी रहेका विद्यालयमा भने बिहान र दिउँसो कक्षा सञ्चालन गराउन भनिएको छ ।

    कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम पठनपाठन शुरु गराउने तयारी गरेको छ ।

    कक्षा १ देखि ६ सम्मका बालबालिकालाई भने सिकाई सहजीकरणमा सहभागी नगराउने र उक्त उमेर समूहका बालबालिकालाई सिकाई सामग्री उपलब्ध गराई अभिभावक सिकाई सहजीकरण सम्बन्धी परामर्श सेवा उपलब्ध गराई घरमै पढ्ने व्यवस्था मिलाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    उहॉका अनुसार ५० जनासम्म विद्यार्थी भएका विद्यालयले एक बेन्च र अर्को बेन्चको दूरी एक मिटर कायम हुने गरी राख्ने र एक बेन्चमा बढीमा दुई जना राख्न पाउनेछन् । सवारी साधन सञ्चालन गर्ने विद्यालयले सिटको एक लहरमा एक विद्यार्थी मात्र राख्न र स्यानीटाईजरको व्यवस्था गर्न सबै विद्यालयलाई पत्राचार गरिएको छ ।