दुई वटा सहकारीमा सदस्य हुनुहुन्छ ? अब पाईदैन !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दुई वटा सहकारीमा सदस्य हुनुहुन्छ ? अब पाईदैन !

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    तनहुँ : आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ ।

    सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने भएका हुन् ।

    विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो । विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ ।

    पाण्डेले हाल देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयरमार्फत अद्यावधिक भइरहेको जानकारी दिनुभयो । यो कार्य पूरा भएसँगै सबै सदस्यलाई स्वघोषणा गर्न लगाउने उहाँले बताउनुभयो । सहकारीको निर्देशन अटेर गरेमा सहकारी कानून परिपालन नगर्दा हुने कानूनी सजाय गरिने उहाँको भनाइ छ । यस अन्तरगत रु दुई लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ । शहरी क्षेत्रका अधिकांश व्यक्तिहरु एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य रहेका छन् । हाल सहकारीका सदस्यको सङ्ख्या ६५ लाखभन्दा बढी भएको पाण्डेले जानकारी दिनुभयो । विवरण अद्यावधिक भएपछि कति व्यक्ति दोहोरो सदस्य छन् भन्ने यकिन हुने उहाँको भनाइ छ ।